भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ नेपाली महिलाको श्रीलंकाबाट उद्धार, १ जना श्रीलंकामै

विहीबार, १० असार २०७८, १० : ३६

काठमाडौं - भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले बताए ।

०७७ मा भारतको बाटो हुँदै श्रीलंका पुगेका उनीहरु कोभिड–१९ संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि त्यहिँ अलपत्र परेका थिए । अध्यागमन कानुन उल्लंघन गरेको मुद्दामा उनीहरु श्रीलंकाको कुरुभिजा कारागारमा थुनामा थिए । 

मुद्दा प्रक्रिया सकेर उनीहरुलाई सरकारले उद्धार गरेको हो । कोभिड–१९ पोजेटिभका कारण उनीहरुसँगै गएकी एक १ जना महिला अझै श्रीलंकामा छिन् ।

नेपाल एयरलाइन्सको जहाजबाट कतारको दोहा हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचविखन ब्यूरो, महिला बालबालिका मन्त्रालय र माइती नेपालको टिमले त्रिभुवन विमानस्थलबाट उनीहरुलाई रिसिभ गरेका छन् ।

उद्धार गरिएका चेलीहरूलाई केही दिन माइती नेपालको संरक्षणमा राखिने मानव बेचविखन ब्यूरोकी एसएसपी दुर्गा सिंहले बताइन् । ०७७ कार्तिकमा खाडी मुलुक जान हिँडेका उनीहरु श्रीलंकामा अलपत्र परेका थिए ।

विहीबार, १० असार २०७८, १० : ३६

प्रतिक्रिया