वैदेशिक रोजगारका यी प्रमुख गन्तव्य जहाँ खोप नलगाएका कामदार जान पाउदैनन्, कुन-कुन मुलुक ?

शनिबार, १२ असार २०७८, ०७ : ०४

काठमाडौँ - सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगार धराशायी हुने जोखिम बढेको छ । खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिक जान नपाउने भएका हुन् ।

यूएई
संयुक्त अरब इमिरेट्स ९यूएई० ले असार ९ गते जारी गरेको खोप सम्बन्धीको सूचनाले नेपालीको खाडीमा रोजगारी थप अन्योलमा परेको छ । कोरोना संक्रमणविरुद्ध दिइने खोप मध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश पाइन्छ । यी खोप नेपालमा अभाव छ ।

कुवेत
कोरोनाको पहिलो सङ्क्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । नयाँ भिसा पनि जारी गरेको छैन । आउँदो साउन १७ देखि भने खोप लगाइसकेको कामदार भने आउन पाउने सूचना जारी गरेको छ । कुवेतले कोभिडबाट उच्च र कम जोखिममा रहेको देशको सूचीलाई हटाउँदै कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको हो ।

भिसा पाएर नेपालमा रोकिएका कामदारले नवीकरण गर्न पाउने बाटो खोलिदिएको छ । नवीकरण गरी उनीहरू साउन १७ देखि कुवेत जान पाउनेछन् । त्यसका लागि कुवेतले अनुमोदन गरेको खोप भने लगाइसक्नुपर्नेछ । 

कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलाई अनुमोदन दिएको छ । सेप्टेम्बर पछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने जनाएको छ ।

साउदी अरब
नेपाली कामदारको माग भइरहेको साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्छ । 

आन्तरिक मन्त्रालय, साउदीको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा काम गर्न पाउनेछन् । बिना खोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

शनिबार, १२ असार २०७८, ०७ : ०४

प्रतिक्रिया