तीन महिनामा ७३ लाखको टिकटक अकाउन्ट  निलम्बन

विहीबार, १७ असार २०७८, ११ : ३४

टिकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ।

उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गरिएका अकाउन्टहरू निलम्बन गरिएका हुन्।

टिकटकले निलम्बित अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको बिबिसीले जनाएको  छ।

किशोर किशोरीमाझ चर्चित टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ।

टिकटकले निलम्बित अकाउन्टका बारेमा पहिलो पटक आफ्नो समुदाय निर्देशिका प्रतिवेदनमा सार्वजनिक गरेको हो।

यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सामाजिक सञ्जाल उद्योगलाई सहयोग हुने अपेक्षा गरेको टिकटकले बताएको छ।

प्रतिवेदनका अनुसार ती तीन महिनामा नियम पालना नगरेका ६करोड १९ लाख५१  हजार 
 ३२७ भिडिओहरू हटाइएका छन्

तीमध्ये ८२ प्रतिशत भिडिओ अरूले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन्

विज्ञापन नीति र निर्देशिका पालना नगरेका १ लाख ९२ हजार ९०० विज्ञापनहरू अस्वीकृत गरिएका छन्

कुल १ करोड ११ लाख ४५ हजार ५१४ अकाउन्टहरू निर्देशिका र प्रयोगका सर्तहरू पालना नगरेका कारण हटाइएका छन्

टिकटकले किशोर किशोरीलाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।

विहीबार, १७ असार २०७८, ११ : ३४

प्रतिक्रिया