काडमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रोजगारीका लागि कतार जाने नेपाली कामदारलाई पारदर्शी र सहज रूपमा सेवा नदिएको भन्दै नेपालमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) खारेजीको माग गरेकोे छ ।
कामदारको सुविधा बढाउने भन्दै दुई बर्षअघि नेपालमा कतार भिसा सेन्टर खालिएको भएपनि पछिल्ला दिनमा उक्त सेन्टर सिमित व्यवसायीको सेटिङमा चल्न थालेको आरोपसहित संघले उक्त माग गरेको हो ।
मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले २० औं वर्षदेखि कतारमा नेपाली कामदार सहजरूपमा गइरहेको अवस्थामा क्यूभीसीको स्थापना भएपछि भने परम्परागत रुपमा जाने प्रक्रियामा नै समस्या शुरू भएको बताए ।
नेपालमा भिसा सेन्टर स्थापना गर्दा सजिलोसँग भिसा प्रक्रिया पूरा हुने र विपन्न अवस्थाका नेपाली कामदारले राहत पाउने भनिएकोमा पछिल्ला दिनहरुका समस्या बढेको भन्दै कार्यवाहक अध्यक्ष तामाङले क्यूभीसी काठमाडौंमा मात्र रहनु संघीयताको मर्म समेत विपरीत रहेको बताए ।
क्यूभीसीले सीमित व्यवसायीले मात्र पहुँच पाउने गरी सेन्टरको अनलाइन प्रणाली खोल्ने र बन्द गर्ने गरेको आरोपसमेत संघले लगाएको छ । क्यूभीसीमा मेडिकल गरी भिसा प्रक्रिया गर्न अनलाइन प्रणालीबाट एप्वाइन्टमेन्ट लिनुपर्छ ।
व्यवस्थापनको समस्या देखाएर दैनिक चारसय जनाको एप्वाइन्टमेन्ट दिने र अनुचित सेटिङ गरेर पहुँच भएकाहरूका सात सय जनाको मेडिकल गरिदिने गरिएको आरोप लगाउँदै क्यूभीसीकै कारण हाल कतारबाट आउने डिमाण्ड अनुसार भिसा प्रक्रिया हुन नसकेको संघले जनाएको छ ।
कतारबाट डेढलाख डिमाण्ड आउँने तर क्यूभीसीको हालको क्षमताले वर्षभरिमा ८० हजारको मात्र मेडिकल गर्न सक्ने भन्दै क्यूभीसीले हाल पु¥याइ रहेको र भविष्यमा पु¥याउन सक्ने क्षतिको सम्बन्धमा नेपाल सरकारले नै छानविन गर्नुपर्ने माग गरेको छ ।
प्रतिक्रिया