काठमाडौं - यूएईमा कार्यरत डाक्टर रविन्द्रकुमार यादव यूएईको गोल्डेन भिसा पाएका छ । उनी यूएईको गोल्डेन भिसापाउने पहिलो नेपाली नागरिक हुन् ।
आठ वर्ष पहिलेबाट यूएईमा कार्यरत विराटनगरका डाक्टर यादवले यूएईले प्रदान गर्न सुरु गरेको सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा मङ्गलवार पाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले गएको केही महिनादेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिन सुरु गरेको छ ।
यूएईले डाक्टर, शिक्षक, शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकार तथा यूएईलाई विशेष योगदान दिँदै आएका व्यक्तिलाई गोल्डेन भिसा दिन सुरु गरेको हो । सन् २०१३ मा यूएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा. यादव अहिले आबुधाबीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत छन् ।
यसैबीच यूएई सरकारले यसै वर्षबाट प्रदान गर्न सुरु गरेको गोल्डेन भिसाका लागि यूएईमा विभिन्न पेसा व्यवसायमा संलग्न २८ जना नेपाली नागरिकले पनि गोल्डेन भिसाका लागि आवेदन दिएका छन् । काठमाडौंमा रहेको यूएई दूतावासको अनुरोधमा नेपाली बिजनेस काउन्सिलले २८ जना नेपालीको आवेदन सिफारिस गरेको काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया