काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा २७ वटा वाणिज्य बैंकले कुल ६२ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका छन्।
केन्द्रिय बैंकको तथ्याँक अनुसार गत जेठ एक महिनामा नै बैंकहरुले ६ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत बैशाख अन्तिम सम्ममा ५६ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले जेठ अन्तिम सम्म्मा ६२ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका छन्।
चालु आर्थिक वर्षको जेठ अन्तिमसम्ममा दुई बैंकले ४ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन्। यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले ४ अर्ब ३० करोड रुपैयाँ कमाएको छ।
त्यसैगरी, सरकारी स्वमित्वको राष्ट्रिय वाणिज्य बैंक पनि नाफाको हिसाबले तेस्रो स्थानमा छ। उक्त बैंकले जेठसम्ममा ३ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै एनआइसि एशिया बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ भने प्राइम कमर्शियल बैंकले ३ अर्ब ४२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ।
सबैभन्दा कम नाफा कमाउनेमा भने सेञ्चुरी कमर्शियल बैंक पहिलो नम्बरमा छ। बैंकले ११ महिनामा ५३ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ भने सिभिल बैंकले पनि ६० करोड रुपैयाँ नाफा कमाएको छ।
जेठ महिनामा सबैभन्दा धेरै नाफा बढाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ। बैंकले एक महिनामा ६५ करोड रुपैयाँले नाफा बढाएको छ।
त्यसैगरी, नेपाल बैंकले पनि ४१ करोड रुपैयाँले नाफा बढाएको छ भने ग्लोबल आइएमई बैंक र नबिल बैंकले ३८ करोड, सिद्धार्थ बैंकले ३३ करोड र प्राइम कमर्शियल बैंकले ३० करोड रुपैयाँले नाफा बढाएका छन्।
प्रतिक्रिया