काठमाडौं - नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् ।
नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए । अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका हुन् ।
हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करिब एक अर्बको लगानी प्रतिबद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापार घाटा करिब रु साढे आठ अर्ब बराबर छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौँस्थित फ्रान्सेली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो ।
बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इञ्जिनीयरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, ऊर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, र्यामिट्यान्सलगायत क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।
प्रतिक्रिया