काठमाडौं - पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् ।
परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जङ्गली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो ।
घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका पाँचवटा बिरुवाले गत वर्षदेखि उत्पादन दिन शुरु गरेको लालशोभा गुरुङले बताए । उनका अनुसार पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यस वर्ष भने लटरम्म फलेका छन् । कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला डिही कृषक समूहका अध्यक्षसमेत रहेकी उनका अनुसार डिभिजन वन कार्यालय कास्कीले निःशुल्क उपलब्ध गराएको बिरुवाले राम्रो फल दिन थालेपछि टिमुर खेतीप्रति यतिखेर यस क्षेत्रका बासिन्दाको आकर्षण बढेको हो ।
“स्वास्थ्यबद्र्धक एवं औषधीय गुण भएको टिमुर खेतीतर्फ युवा वर्गको आकर्षण बढेको देख्दा असाध्यै खुशी लागेको छ”, उनले भने, “युवाको उत्साहलाई जीवित राख्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।” कुरदेखि डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका विरुवा क्रमिक रोप्दै आएको उल्लेख गर्दै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको बताए ।
नेपाल सरकारको राष्ट्रिय वृक्षरोपण १० वर्षे रणनीतिअनुसार २०७३ सालदेखि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा शुरु गरिएको सो अभियानअन्तर्गत हालसम्म १२ हजा भन्दा बढी टिमुरका बिरुवा रोपिएको बताउँदै उहाँले यस वर्ष मात्र एक हजार ३०० बिरुवा रोप्ने अभियानको थालनी भएको जानकारी दिए । लामो समयदेखि बाँभैm रहेका कारण झाडी र जङ्गलमा परिणत भएको सात रोपनी जग्गामा यस वर्ष १५० वटा टिमुरका विरुवा रोपेको स्थानीय युवा किरण गुरुङले राससलाई जानकारी दिए । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकोले व्यावसायिकरूपले खेती शुरु गरिएको उनहाँको भनाइ छ । उनले थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेतीतर्फ आकर्षण बढेको बताए ।
स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाडी रहेको उक्त जग्गामा अलैँची, कफीलगायतका अन्य बालीसमेत लगाउने तयारी भइरहेको उनको भनाइ छ । अर्का युवा शङ्कर गुरुङले सात रोपनी जग्गामा टिमुरका १५० सहित ५०० भन्दा बढी अलैँची, कफी, किवी, एभोकार्डोलगायतका बिरुवा रोपेका छन् । सोही जग्गामा अन्य आयआर्जन गर्न सकिने नवीनतम बिरुवा लगाउने सोचमा रहेको उनी बताउछन् । गाउँमा आप्mनो जग्गामा खेती गर्नभन्दा अर्मलाको फाँटमा अरुको खेत अधियाँ रोप्दा फाइदा हुने हुँदा विगत लामो समयदेखि बाँझिएको साढे चार रोपनी निजी जग्गामा यसै वर्ष टिमुरका ३०० बिरुवा रोपेको लप्सीबोट (रघु) का बलबहादुर विक र भक्तबहादुर विकले बताए ।
डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न आयमूलक जातका बिरुवा थप्दै गएको जानकारी दिए । सो क्षेत्रमा म्याग्दी जिल्लाबाट खरिद गरिएका टिमुरका बिरुवा वितरण गरिएको हो । बिरुवा खरिद र ढुवानीसहित खाल्टा खन्नेसमेत कार्यालयबाट व्यवस्था गरिएको छ । शुरुमा रोपिएका बिरुवाले फल दिन थालेको र आगामी केही वर्षभित्र स्थानीय कृषकले कृषि वनको माध्यमबाट राम्रो आम्दानी लिने उहाँको विश्वास छ । टिमुरको बजार मूल्य हाल प्रतिकिलो रु तीन हजार ५०० सम्म रहेको छ ।
समुद्री सतहबाट एक हजार १०० देखि एक हजार ८०० मिटरको उचाइमा रहेको साविक अर्मलाको सो क्षेत्रमा हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकार्डो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिमाणमा राईखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका विरुवा रोपिएको कृषि वन समूहका सचिव जितबहादुर बस्नेतले जानकारी दिए ।
उहाँका अनुसार वन कार्यालयले आवश्यक विरुवा निःशुल्क उपलब्ध गराउनुका साथै खाल्टा खन्नका लागि समूहलाई हालसम्म रु तीन लाख १५ हजार उपलब्ध गराइसकेको छ । वृक्षरोपणदेखि बिरुवाको संरक्षण तथा उत्पादित वस्तुको उपयोगका बारेमा सम्बन्धित निकायले कृषकलाई समयमै तालीमको व्यवस्था गर्नुपर्नेमा उनको जोड रहेको छ ।
दुईदेखि छ मिटरसम्म अग्लो बोट हुने झाडी एवं सदाबहार प्रजातिको टिमुरको फल प्रशोधन गरेर तेल निकालिन्छ । टिमुरको तेल विशेषगरी दाँत दुख्दा निको पार्न र आयुर्वेदिक टुथपेष्ट बनाउने काममा प्रयोग गरिन्छ । साथै यसको प्रयोग अत्तर, साबुन र स्याम्पुजस्ता वासनादार सामग्री उत्पादनमा पनि गरिन्छ । युरोपेली बजारमा प्रत्येक वर्ष यसको माग उच्च रहँदै आएको छ ।
प्रतिक्रिया