काठमाडौं– रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) ले व्यवसाय खोल्न नदिएको भन्दै सरकारप्रति तिव्र्र आक्रोश पोखेको छ । कोभिड–१९ को संक्रमणदर कम भएसँगै अन्य क्षेत्रलाई खुल्ला गरेको तर होटल, रेष्टुरेन्ट तथा बार क्षेत्रलाई सरकारले अझैं दमनकारी नीति अबलम्बन गरेको भन्दै रेबानले तिव्र विरोध गरेको हो ।
सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै रेबानले अबिलम्ब रेष्टुरेन्ट तथा बार जस्ता सेवा क्षेत्रलाई पनि आवश्यक प्रोटोकल अपनाई निर्वाध व्यवसाय सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ ।
सो अवसरमा रेबानले आउँदै गरेको आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमार्फत समग्र रेष्टुरेन्ट तथा बार व्यवसायिक क्षेत्रको समस्या सम्बोधन गर्दै व्यवसायिक उत्थानका लागि विशेष कार्यक्रमहरु ल्याउन समेत सरकारसँग माग गरेको छ ।
जस अन्तरगत एसोसिएसनले होटललाई जस्तै रेष्टुरेन्ट तथा बार व्यवसायलाई पनि उद्योग, सेवा क्षेत्रको रुपमा राख्न र सोही बमोजिमको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । यस्तै,कोभिड प्रभावित व्यवसायको उत्थानका लागि घरबहाल, बैंकको ब्याज, किस्तालगायत व्यवसायिक करमा विशेष छुट दिन र व्यवसायिक उत्थानका लागि अधिकतम ५० लाख सम्मको सहुलियत पूर्ण पुनर्कर्जाको व्यवस्था गर्न समेत रेबानले सरकारसँग माग गरेको छ ।
सोही अवसरमा रेबानले रेष्टुरेन्टमा पस्कने खानाको कच्चा पदार्थ पूर्णतः कृषि उपज हुने र ती अधिकांश स्वदेशी उत्पादन नै हुने हुँदा रेष्टुरेन्ट तथा बारको १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) समेत खारेज गरिदिन सरकासँग माग गरेको छ ।
ललितपुरको सेभेन सिजन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सेबानले ज्योति विकास बैंकसँग व्यवसायिक कर्जाका लागि ऋण सम्झौता समेत गरेको छ । रेबानका तर्फबाट अध्यक्ष अरनिको राजभण्डारी र बैंकका तर्फबाट ज्योति विकास बैंकका डेपुटी सिइओ पारस राजकर्णिकारले गरेको सम्झौतामा बैंकले रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल ९रेबान०का सदस्य व्यवसायीहरुलाई विना धितो अधिकतम १५ लाखसम्म व्यवसायिक ऋण उपलब्ध गराउने बताएको छ ।
यसले कोभिड प्रभावित व्यवसाय उत्थानमा निकै सहयोग पुग्नेमा आफु विश्वस्त रहेको रेबानका अध्यक्ष राजभण्डारीले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया