काठमाडौं, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आवमा हालसम्म एक लाख ५५ हजार ५५९ जनाले रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा चालु आव २०७७÷७८ मा रोजगारी पाउनेको सङ्ख्या र कार्यदिन दुवै उल्लेख्य मात्रामा बढेको छ । कार्यक्रममार्फत गत आवमा एक लाख पाँच हजार ३६५ व्यक्तिले रोजगारी पाएका थिए ।
त्यस्तै गत आवमा रोजगारी पाएका एक व्यक्तिको औसत १६ कार्यदिन रहेकामा यो वर्ष औसत ६० कार्यदिन पुगेको छ ।
यसअघि कार्यक्रमका लागि खर्च हुने सबै रकम केन्द्रबाट पठाउने गरिएकामा यस पटक स्थानीय सरकारले पनि कार्यक्रममा साझेदारी गर्नुपर्ने नयाँ नीतिगत व्यवस्था गरिएको थियो । सो निर्णय गत असोजमा गरियो । स्थानीय निकायको बजेट गत वर्षकै असारमा बनिसकेकाले समेत कार्यक्रमलाई केही प्रभाव पारेको छ ।
कार्यक्रममा जाथाभावी रकम खर्च भएको गुनासोपछि एकरुपता कायम गर्ने प्रयास भइरहेको छ । रोजगारीका नाममा गाईवस्तु धपाउने, झार उखल्ने, बाँदर लेखेट्ने जस्ता काममा राज्य कोषको अर्बौं रूपैयाँ बाँडिएको भन्दै आलोचना भएको थियो । यसलाई यो वर्षको बजेटमार्फत कार्यक्रमअन्तर्गत स्थानीयस्तरमा सञ्चालन हुने सडक, भवन, नदी नियन्त्रण, सिँचाइ, वृक्षरोपण जस्ता काममा लगाउन पाइने उल्लेख गरी कडाइ गर्ने कोसिस गरिएको छ ।
आगामी आवका लागि रु १२ अर्ब विनियोजन गरेर दुई लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने पनि बजेटमा उल्लेख छ । पाँच वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित सरकारले २०७५ फागुन १ गते घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया