चालु आवमा १ हजार भन्दा बढी विदेशी कामदार काम गर्न नेपाल भित्रिए, कुन देशबाट कति ?

मंगलबार, २९ असार २०७८, १० : २३

काठमाडौं, चालु आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहँदा असार २८ गतेसम्म मात्रै १ हजार ६८ जनाले विदेशी कामदार श्रम इजाजत लिएर नेपाल काम गर्न आएका छन् । श्रम इजाजत लिएर काम गर्न ६८ देशबाट १ हजार ६८ जना कामदार नेपाल आएको विभागले जानकारी दिएको छ । नेपालमा चीन, भुटान, बङ्गलादेश, फ्रान्स, जर्मनी, अफ्रिका, नर्वे, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, क्यानडा, मलेसिया, नेदरल्यान्ड लगायत ६८ देशबाट रोजगारीका लागि कामदार आउने गरेका छन् । 

यो अवधिमा सबैभन्दा धेरै चिनियाँ कामदारले श्रम इजाजत लिएका हुन् । विभागका अनुसार ८ सय १२ जना चिनियाँ नागरिकले श्रम इजाजत लिएका मध्ये ७८० जना पुरुष  र ३२ जना महिला  रहेका छन् । यस बाहेक चालु आव मै ९०३ जनाले श्रम इजाजत नवीकरण गरेका छन् । 

यसै वर्ष मात्र २७ जना भारतीय नागरिकले नयाँ श्रम इजाजत लिए भने ४६ जनाले नवीकरण गरेका विभागले जानकारी दिएको छ । त्यस्तै जापान , कोरिया, अस्ट्रेलिया पनि धेरैले श्रम इजाजत लिएका छन् ।  

विभागको तथ्यांक अनुसार गत आव २०७६/०७७ मा मात्रै दुई हजार ५० जना विदेशी कामदार श्रम इजाजत लिएर नेपालमा काम गर्न आएका थिए । तर, आव २०६९/०७० देखि २०७५/०७६ सम्म भने एक हजार ९ सय ८१ जना मात्र आएको तथ्याकंले देखाएको छ । 
 

मंगलबार, २९ असार २०७८, १० : २३

प्रतिक्रिया