काठमाडौँ - साउन दोस्रो सातादेखि इजरायल जाने कामदारका लागि सूचना निकालिने भएको छ । वैदेशिक रोजगार विभागले एक हजार कामदार इजरायल पठाउने गरी सूचना निकाल्ने तयारी गरेको हो ।
नेपालको तर्फबाट सम्पूर्ण काम अन्तिम चरणमा पुगेकोले सूचना निकाल्ने तयारी रहेको विभागले जनाएको छ । नेपालको तर्फबाट कामदार पठाउन प्रक्रिया पूरा गरिसकेकाले साउनको दोस्रो सातादेखि इच्छुक र योग्यता पुगेका कामदारका लागि सूचना निकालिने विभागले जनाएको छ ।
कोरोनाका कारण निषेधाज्ञाको अवस्था परिवर्तन भएकाले यसअघि प्रकाशन हुने सूचना रोकिएको थियो । मन्त्रिपरिषद्बाट इजरायल कामदार पठाउन निर्देशिका स्वीकृत भए पनि कोरोनाको दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा जारी भए पछि कामदार पठाउने प्रक्रिया रोकिएको थियो ।
विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले थप परिमार्जन गरी कानुन, परराष्ट्र र अर्थ मन्त्रालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो ।
परीक्षा मोडालिटीका लागि इजरायल पक्षसँग छलफल भएकाले कसतो मोडालिटीमा परीक्षा लिने भन्ने सुझाव आउँछ त्यहीँ अनुसार अगाडि बढ्ने विभागले जनाएको छ । घरमा 'केयर गिभर' र अस्पतालमा कामदार लाने गरी सम्झौता भएको बताइएको छ । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष पठाउन सकिने विभागले जनाएको छ ।
इजरायलमा जाने नेपाली कामदारको २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्ने छ । प्लस टुु पास गरेर तीन महिनाको 'केयर गिभर' तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् । हिब्रु र अंग्रेजी भाषाको सामान्य ज्ञान हुनुपर्ने छ । ४.९ फिट र ४५ केजीभन्दा बढी भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । कामदारले न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।
प्रतिक्रिया