काठमाडौं, गत आर्थिक वर्षमा वाणिज्य बेंकहरुको निक्षेप र कर्जा दुबैको बृद्धिदर उच्च देखिएको छ। केन्द्रिय बैंकको तथ्याँक अनुसार गत आर्थिक वर्षमा बैंकहरुको निक्षेप संकलन २० प्रतिशतले बढेको छ भने कर्जा लगानी २७ प्रतिशतले बढेको छ।
असार मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुले ४२ खर्ब ०२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा कर्जाको बृद्धिदर १६.४० प्रतिशतमा सिमित थियो। त्यसैगरी आव २०७५/७६ मा कर्जाको बृद्धिदर १८.३७ प्रतिशत,आव २०७४/७५ मा २१.७३ प्रतिशत, आव २०७३/७४ मा २५.७२ प्रतिशत र आव २०७२/७३ मा बैंकहरुको कर्जाको बृद्धिदर २६.९४ प्रतिशत रहेको थियो।
बैंकहरुले झण्डै २८ प्रतिशतले कर्जा लगानी बढाउदा निक्षेप संकलन भने २० प्रतिशतले मात्रै बढेको तथ्याँकले देखाउँछ।
आर्थिक वर्ष २०७६/७७ मा बेंकहरुको निक्षेपको बृद्धिदर २१.१८ प्रतिशतथियो। त्यसैगरी आव २०७५/७६ मा निक्षेपको बृद्धिदर १६.५५ प्रतिशत रहेको थियो भने आव २०७४/७५ मा १८.०६ प्रतिशत, आव २०७३/७४ मा १८.६५ प्रतिशत र अब २०७२/७३ मा बैंकहरुको निक्षेपको बृद्धिदर २०.६६ प्रतिशत रहेको थियो।
प्रतिक्रिया