'कमेडी च्याम्पियन सिजन-२' का प्रतिस्पर्धी भरतमणीलाई ६ लाखको पुरस्कार

२ बर्ष अगाडि

काठमाडौं - 'कमेडी च्याम्पियन सिजन-२' का प्रतिस्पर्धी भतरमणी पौडेललाई ६ लाख रुपैया राशीको पुरस्कार घोषणा गरिएको छ । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा उक्त पुरस्कारको घोषणा गरिएको हो । 

भट्टराईद्धारा व्यक्तिगत रुपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजको तर्फबाट दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रको तर्फबाट दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख गरी जम्मा ६ लाखको पुरस्कार घोषणा गरिएको छ । उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ । 

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको 'टप-६' मा प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लाको उदाउदो कलाकारलाई प्रोत्साहन स्वरुप सो पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए । उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङकासंघ संस्थाका प्रतिनिधीहरुको भेलामा उनले जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन् । 

भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आएका छन् । कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने उनले बताए ।

२ बर्ष अगाडि

प्रतिक्रिया