काठमाडौं - जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई साउदी अरबले प्रवेश अनुमति दिएको छ ।
साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको खोप लिएर साउदी प्रवेश पाउने जनाएको छ ।
दूतावासका अनुसार खोप लगाएको १४ दिनपछि साउदीमा प्रवेश गर्दा त्यहाँ पुगेपछि संस्थागत क्वारेन्टिनमा बस्न नपर्ने जनाएको छ । घर बिदामा गएका वा नयाँले आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन दूतावासले अनुरोध गरेको छ ।
साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति दिएको छ । साउदी प्रवेशका लागि त्यहाँ अनुमति प्राप्त खोपमध्ये फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको २ वटै डोज लगाईसकेको वा जोन्सन एण्ड जोन्सनको खोप लगाएको १४ दिन कटिसकेको हुनु पर्नेछ ।
प्रतिक्रिया