इजरायल जाने कामदारका लागि भदौ पहिलो साता परीक्षा लिने तयारी, तलब कति ?

शुक्रबार, ०८ साउन २०७८, १४ : ४०

काठमाडौँ – वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भदौ पहिलो साता परीक्षा लिने तयारी गरेको छ । इजरायली पक्षसँग कामदार छनौट गर्ने विषय अघि बढिसकेकाले भदौँको पहिलो सातासम्‍म परीक्षा लिने तयारी गरिरहेको विभागले जनाएको छ ।

इजरायल जान चाहने कामदारको लागि छिटोमा आउँदो सोमबार र ढिलोमा बुधबारसम्म सूचना सार्वजनिक गरिने विभागले जनाएको छ । सूचना जारी गरेको २१ दिनपछि परीक्षा लिने मिति सार्वजनिक हुने छ ।

विभागका अनुसार सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इजरायलको कानुनी व्यवस्था बारेमा जानकारी राखिनेछ । परीक्षा अंग्रेजी भाषामा हुनेछ । आवेदकको संख्या अनुसार परीक्षा केन्द्रको व्यवस्थापन गरिने विभागले जनाएको छ । विभागका अनुसार एक हजार कामदारको मागमा महिला ७० प्रतिशत र ३० प्रतिशत पुरुषको माग रहेको छ ।

सरकार-सरकार (जीटूजी) मार्फत कामदार इजरायल जान पाउनेछन् । इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । 'प्लस टु' पास गरेर तीन महिनाको 'केयर/गिभर' तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् । 

४.९ फिट र ४५ केजीभन्दा बढी भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्नेछन् । योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थित हुन अनुरोध गर्नेछ ।

न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।

शुक्रबार, ०८ साउन २०७८, १४ : ४०

प्रतिक्रिया