नेपाली बजारमा टाटाको विद्युतीय एसयूभी नेक्सन सार्वजनिक, मूल्य कति ?

बुधबार, १३ साउन २०७८, ०९ : ५४

काठमाडौं - नेपाली बजारमा टाटाको विद्युतीय एसयूभी नेक्सन सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त एसयूभी नेक्सन सार्वजनिक गरेको हो । 

जिपट्रोन प्रविधिमा आधारित नेक्सन इभीमा टिकाउ ब्याट्री रहेकाले एक पटक चार्ज गरेपछि २ सय ५० देखि ३ सय किलोमिटर दूरीसम्म सहजै गुड्छ । डिसीचार्जर प्रयोग गर्दा नेक्सन इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीले बताएको छ ।

गाडीमा टेल लाइट, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, रिअर एसी भेन्ट, आईपी ६७ कम्प्लायन्ट वाटरप्रुफ, ब्याट्री प्याक, मल्टिपल ड्राइभिङ मोड, हिल असेन्ट, इलेक्ट्रिक पावर्ड सनरुफ, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर्स, एन्टिलक ब्रेकिङ सिस्टम, डुअल एयर ब्यागलगायत विशेषता छन् ।

नयाँ विद्युतीय नेक्सनमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेकाले कच्ची बाटोमा  सजिलै चलाउन सकिनेछ । गाडीले १२९ पिएस पावर र २ सय ४५ एनएमको टर्क जेनेरेट गर्छ । नेक्सनको विद्युतीय मोडलको ब्याट्रीमा १ लाख ६० हजार किलोमिटर र गाडीमा १ लाख २५ हजार किलोमिटरको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

विद्युतीय गाडी नेक्सनलाई आफ्नै घरमा पनि चार्ज गर्न सकिनेछ । यसका लागि कम्पनीले नै ग्राहकका घरमा चार्जिङ पोर्ट जडान गरिदिनेछ । कम्पनीले हाल बागडोल, चुम्लिङटार, पोखरा, भैरहवा, हटौंडा, मुलकोट र इटहरीलगायत ८ स्थानमा फास्ट चार्जिङ स्टेसन निर्माण गरिसकेको छ ।

कम्पनीले नेक्सनको एक्सएमको सुरु मूल्य ३५ लाख ९९ हजार, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस एलयुएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

बुधबार, १३ साउन २०७८, ०९ : ५४

प्रतिक्रिया