काठमाडौं - गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्ममा बैदेशिक रोजगारीमा ठगि भएको भन्दै ४३१ वटा उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यक्तिगत तवरबाट ठगीमा पर्नेहरुको संख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यो अघिल्लो आवको तुलनामा भन्दा ९० ले बढी हो । विभागका अनुसार ४३१ उजुरीबाट ३४ करोड ५८ लाख रुपैयाँ माग दाबी गरिएको भएपनि अदालमा भने १०५ मुद्धा मात्र दर्ता गरिएको छ । जसबाट १७ करोड ९२ लाख ५२ हजार ३७० रुपैयाँ मागदाबी गरिएको छ ।
अघिल्लो आवमा विभागमा ३४१ उजुरीबाट २४ करोड ९८ लाख ६३ हजार ७०६ रुपैयाँ बराबरको रकमको माग दाबी गरिएको थियो । तर अदालतमा २०१ वटा मुद्धा दर्ता गरि २० करोड ५८ लाख ६५ हजार ४९५ रुपैयाँ रकम मागदावी गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार हालसम्म ७७२ वटा उजुरी दर्ता भएका छन् । जसबाट ५९ करोड ४ लाख ५१ हजार ५९७ माग दाबी गरिएको छ । ती मध्ये ३०६ वटा मुद्दा मात्र अदालतमा पुगेका छन् । जसबाट ३८ करोड ५१ लाख १७ हजार ८६५ रुपैयाँ माग दाबी गरिएको छ ।
केहि वर्षयता बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएपनि ठगीमा पर्नेहरुको संख्या बढेको पाइएको छ । विदेशमा राम्रो रोजगारी र तलवको प्रलोभनमा पारेर श्रम स्वीकृत पाएका तथा नपाएका मुलुकमा पठाउने भन्दै ठगी भइरहेको विभागले जनाएको छ ।
प्रतिक्रिया