काठमाडौं - मलेसियामा कार चोरीको आरोपमा एक नेपाली कामदार पक्राउ परेका छन् । त्यहाँको प्रहरीले ६ जनाको एक गिरोहलाई पक्राउ गरेकोमा एक जना नेपाली रहेको बताइएको छ । पक्राउ परेका नेपाली सुरक्षा गार्ड हुन् ।
उनले आफूले काम गर्ने ठाउँमा लामो समयसम्म पार्क गरेर राखिएका कारहरुको सूचना उक्त गिरोहलाई दिने गरेको प्रहरीको दाबी छ । उनको नाम भने खुलाइएको छैन ।
जुलाइ २५ मा पक्राउ परेका उनीहरुको साथबाट एउटा मर्सिडिज एस ३२० र टोयोटा एस्टिमा कार जफत गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ जनासँग सोधपुछपछि प्राप्त जानकारीका आधारमा एक जना नेपालीसहित अन्य ३ जनालाई पक्राउ गरिएको मलेसियाको दि स्टारले उल्लेख गरेको छ ।
प्रहरीले नेपालीसहितको गिरोहले लामो समय सामुदायिक पार्किङमा पार्क गरेर राखिएका कार चोरी गरेको बताएको छ ।
प्रतिक्रिया