काठमाडौं - इजरायलको रोजगारीमा जाने कामदार छनोट अघि सोर्स फोर्सको दबाब बढेपछि वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ ।
विभागले गत हप्ता २१ दिनको सूचना दिएर आवेदन माग गरेपछि अनावश्यक चलखेल बढेको सार्वजनिक भए पछि यस्तो भनेको हो । विभागले सूचना जारी गर्दै इजारायलका स्याहार केन्द्रहरुमा पठाइदिने भनी कामदार छनोट प्रक्रियामा निजी क्षेत्र म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनैपनि प्रकारको भूमिका र संलग्नाता नरहने बताएको छ ।
सहयोगी कामदार छनोटमा केबल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार गरिने पनि विभागले उक्त सुचना मार्फत जनाएको छ । अन्तर्वार्ताबाट छनोट भएपछि रोष्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइने छ । कामदार छनोट प्रक्रिया पूर्णरुपले निष्पक्ष हुने छ ।
कामदारको उचाई कम्तीमा १.५ मिटर र कम्तीमा ४५ किलो तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अ।न।मी। वा सि।एम।ए। सम्बन्धी विषयमा १५ महिनाको अध्ययन वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका युवा युवती आवेदनका लागि योग्य मानिएका छन् ।
५ वर्षका लागि जाने कामदारले मासिक पौने दुई लाख रुपैयाँ हाराहारीमा पाउने छन् । विभागले बिहीबारसम्म २० हजारको हाराहारीमा अनलाइनमार्फत आवेदन आएको बताएको छ ।
प्रतिक्रिया