साउदीद्धारा भेरोसेललाई मान्यता, मलेसियामा बढ्यो कोरोना

आइतबार, २४ साउन २०७८, १३ : ४४

काठमाडौं - नेपालीको वैदेशिक रोजगारीकोे मुख्य गन्तव्य साउदीले कोरोना विरुद्धको खोप सिनोफर्म (भेरोसेल) लाई पनि मान्यता दिएको छ ।

सिनोफर्मलाई मान्यता दिएसँगै मान्यताप्राप्त खोपको संख्या ६ पुगेको छ । यो भन्दा पहिले साउदीले फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मान्यता दिएको थियो ।

नेपालमा अहिले चिनियाँ खोप कम्पनी सिनोफर्मको भेरोसिल खोप बढीजसो लगाइरहेको अवस्था छ । पहिले यो खोपलाई साउदीले मान्यता नदिँदा धेरै श्रमिकहरु जोनसन एण्ड जोनसनको लागि पर्खिनुपरेको थियो । 

अब यो खोपलाई मान्यता दिएसँगै साउदी जाने श्रमिकलाई सहज हुनेछ । साथै मलेसियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबार दश हजार नाघेको छ । 

लामो समय कोरोना भाइरसलाई नियन्त्रणमा राखेको मलेसियामा पछिल्ला दिनमा कोरोना संक्रमणको फैलावट अनपेक्षितरुपमा बढेको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यहाँ शनिबारसम्म १२ लाख ४३ हजार ८ सय ५३ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १० हजार ३ सय ८९ रहेको छ । मलेसियाको स्वास्थ्य सेवा विभागका अनुसार अघिल्लो वर्ष सन् २०२० मा जम्मा ४ सय ७१ जनको मृत्यु भएकोमा यस वर्षको ८ महिनामा मात्रै ९ हजार ९ सय १८ जनाको मृत्यु भएको र संक्रमितहरु बढ्ने क्रम नघटेको जनाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुर, छिमेकी सेलाङगोर, केदाह, सवाह, जोहर, लुवानका विदेशी कामदार बस्ने उद्योगका होस्टल, अवैध आप्रवासी कामदार राखिएका डिटेन्सन सेन्टर, शिक्षण संस्था र धार्मिक कलष्टरहरु कोरोनाका ‘हट स्पष्ट’का रुपमा देखिएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार विदेशी कामदार बस्ने होस्टल, अवैध आप्रवासी कामदार बस्ने डिटेन्सन सेन्टर साँघुरा र पर्याप्त हावा खेल्न नपाउने रहेका छन् । जुन संक्रमण फैलावटका दृष्टिले बढी संवेदनशील देखिएका छन् ।

पछिल्ला दिनमा मलेसियामा मुख्यगरी सुरक्षागार्डको रोजगारीमा रहेका नेपाली कामदारहरुको पनि मृत्युको संख्या बढेको छ । पछिल्लो एक महिनामा कोरोना संक्रमणका कारण ३८ जना नेपाली कामदारको मृत्यु भएको नेपाली मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
 
 

आइतबार, २४ साउन २०७८, १३ : ४४

प्रतिक्रिया