काठमाडौं - कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्यामा परेका छन् । पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिएका हुन् ।
युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने नियम लागु गरेको छ । नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान लागेका डेढ सय यात्रु रोकिएका हुन् ।
यी यात्रुमध्ये ९० प्रतिशतभन्दा धेरै रोजगारीका लागि दुबई जाने युवा थिए । नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडानमार्फत दुबई उड्न विमानस्थल पुगेका यात्रु सोमबार त्यसै फर्किए । विमानस्थलका अधिकारीहरूका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले लागु गरेको नयाँ नियमका कारण कोही पनि यात्रु जान नपाउँदा जहाज रित्तै उडेका थिए ।
नेपालबाट दुबई उड्ने यात्रुको हकमा ४८ घण्टाभित्र गरिएको कोरोना परीक्षण ९पिसिआर० को रिपोर्ट र चार घण्टापहिले विमानस्थलमै गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेपछि हिमालय एयरलाइन्सका ९० र नेपाल वायुसेवा निगमका ६० जना यात्रु उड्न नपाएको विमानस्थल कार्यालयले जनाएको छ। युएई सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेका संसारका १६ मुलुकलाई जोखिमको सूचीमा राखेको छ ।
यही सूचीमा रहेका मुलुकबाट आउनेहरूका लागि नयाँ नियम लागु गरिएको हो ।
प्रतिक्रिया