वैदेशिक रोजगारीबाट स्वदेश फर्किनु परेका नेपाली कामदारको कमाइ गुम्दै, सबैभन्दा कतारमा

विहीबार, २८ साउन २०७८, ०७ : ३५

काठमाडौं - कोरोना भाइरस महामारीका कारण दबाब र बाध्यतामा परी वैदेशिक रोजगारीबाट स्वदेश फर्किनु परेका नेपाली कामदारहरुले आफ्नो कमाइ गुमाउनु परेको छ । आप्रवासी कामदारहरुको हितका पक्षमा काम गर्दै आइरहेको संस्था प्रवासी नेपाली समन्वय समिति ९पीएनसीसी०ले गरेको एक अध्ययनले उक्त तथ्य सार्वजनिक गरेको हो । 

प्रवासी नेपाली समन्वय समितिका अनुसार ठगिनेमा कागजात नभएका कामदार रहेका छन् ।  उनीहरु आफुले पाउनुपर्ने तलब तथा ज्याला पाउन कम्पनीविरुद्ध उजुरी दिने अवस्थामा समेत नदेखिएको जनाएको छ ।

उक्त संस्थाले कोरोना महामारीको विश्वव्यापी संक्रमणपछि रोजगारी गुमाएर घर फर्किएका  कामदारहरुले बाध्यताबश आफुले कम्पनीबाट पाउनुपर्ने रकम छोड्नु परेको देखिएको जनाएको छ । 
 
उक्त संस्थाले कोरोना महामारीपछि रोजगारी गुमाएर फर्किएका मध्ये सवा ७ सय नेपाली कामदारलाई आधार बनाएर गरेको अध्ययनमा उक्त कामदारको ज्यालामा ठगी भएको देखिएको बतायो । समितिले ७ सय ३० जना कामदारहरुले नियमितरुपमा पाउनुपर्ने मध्ये ३ करोड ९८ लाख ३५ हजार ६ सय ३२ रुपैयाँ ज्याला छाडेर फर्किएको भन्दै समग्रमा नेपाली कामदारले करोडौं गुमाएको बताएको छ ।

पाउनुपर्ने तलब सुविधा छोड्न बाध्य भएका मध्ये वैदेशिक रोजगारीका लागि कतारबाट फर्किएका सबैभन्दा धेरै रहेको बताएको छ । कतारपछि साउदी अरब, बहराइन, यूएई र मलेसियाबाट फर्किएकाहरु रहेको उक्त अध्ययनले जनाएको छ । 
 

विहीबार, २८ साउन २०७८, ०७ : ३५

प्रतिक्रिया