काठमाडौं - वैदेशिक रोजगारीका लागि अफगानिस्तानमा रहेका नेपालीहरूलाई स्वदेश फर्किन रोजगारदाताहरुले सूचना दिएका छन् । बीबीसी नेपाली सेवाका अनुसार परिस्थिति दैनिकरूपमा बिग्रिरहेको भन्दै आ–आफ्नो प्रबन्ध गरेर स्वदेश फर्किन सूचना दिइएको हो ।
अफगानिस्तानमा लडाइ चर्केपछि त्यहाँ रहेका नेपालीहरूलाई तत्काल उद्धार गरेर स्वदेश फर्काउन गत बिहीबारको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदहरुले आवाज उठाएका थिए ।
अमेरिकाले आफ्ना सेना फिर्ता बोलाएपछि हाल विद्रोही तालिबानले अफगानिस्तानका विभिन्न प्रान्तीय राजधानीहरु आफ्नो नियन्त्रणमा लिइरहेका खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आइरहेका छन् ।
बीबीसीले राजधानी काबुल भन्दा दश किलोमिटर टाढाका प्रान्तीय राजधानीमा तालिवान लडाकुहरू आइपुगेका र राजधानी छिर्ने क्रममा सरकारी सेनासँग भीषण र निर्णायक लडाइ हुनसक्ने आँकलन गरिएको उल्लेख गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार हालसम्म अफगानिस्तानमा रोजगारीमा जानका लागि १३ हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएका छन् भने गत वर्ष मात्रै १ हजार ७३ जनाले श्रम स्वीकृति लिएर गएका थिए ।
नेपालबाट शुरुमा कतार र यूएईलाई आधार बनाएर युवालाई लगिने र त्यहाँबाट मानव तस्करहरूले विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर अफगानिस्तान पठाउने गरेका छन् । कतिपय रोजगारदाताले भारतले गर्ने उद्धार उडानमा नेपालीलाई पनि फिर्ता लैजान आग्रह गरेको बताइएको छ ।
प्रतिक्रिया