काठमाडौं - मलेसियामा पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारलाई लक्षित गर्दै धमाधम धरपकड अभियान जारी राखेपछि दैनिक नेपालीसहित आप्रवासी कामदार पक्राउ परिरहेको छन् ।
मलेसियाले बुधबार मात्र सुरक्षा गार्डसहित थप २२ जना विदेशी श्रमिकलाई पक्राउ गरेको मलेसियाली अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागका अनुसार ३६ जनालाई अनुसन्धान गरेकोमा २२ जनाले श्रम कानुन उलंघन गरी बसेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई त्यहाँको पुत्रजया, बन्दरबारू, वगी सिमोनिया, साईवरजया लगायतका ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ महिलासहित २० पुरुष छन् । पक्राउ परेकाको राष्ट्रियता भने खुलाइएको छैन ।
पक्राउ परेकामध्ये अधिकांशले कानुन विपरीत र भिसामा उल्लेख भएभन्दा फरक कम्पनीमा काम गरेको पाइएको विभागले जनाएको छ ।
गत हप्ता मात्र अध्यागमन विभागले केही नेपालीसहित १११ विदेशी श्रमिकलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया