अफगानिस्तानबाट स्वदेश फर्कने क्रम जारी, ४६१ नेपाली काठमाडौँ आइपुगे

शनिबार, ०५ भदौ २०७८, ०७ : १२

काठमाण्डौं - अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ । शुक्रवार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।

हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकाहरूमा  काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् ।

काठमाडौँ आइपुगेकाहरूलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ ।

‘कन्सुलर’ सेवा विभागको ‘वेब पोर्टल’मा शुक्रवार साँझ ५ बजेसम्म ३ सय १० नेपालीले आफ्नो विवरण दर्ता गराएका उक्त मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।

शनिबार, ०५ भदौ २०७८, ०७ : १२

प्रतिक्रिया