कमेडी च्याम्पियन सिजन -२ का विजेता भरतमणीलाई ९ लाखको पुरस्कार

२ बर्ष अगाडि

काठमाडौं - कमेडी च्याम्पियन सिजन २ का बिजेताहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । भरतमणी सहयोग समितिको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा कमेडी च्याम्पियन सिजन-२ का तीन जना विजेतालाई सम्मान गरिएको हो ।
 
काठमाडौंको सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजना गरिएको उक्त कार्यक्रम मार्फत कमेडी च्याम्पियन  सिजन २ का विजेता भरतमणी पौडेललाई ९ लाख ५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ । 

पूर्व पर्यटन मन्त्री तथा प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईको तर्फबाट १ लाख, रेडियो तमोर १०२ मेघाहर्जको तर्फबाट १ लाख, ताप्लेजुङ समाजको तर्फबाट २ लाख र अन्य व्यक्तिहरू गरी जम्मा ९ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।


 
साथै कमेडी च्याम्पियनका फस्ट रनरअप बिक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै सांसद योगेश भट्टराईले तीनै जना विजेतालाई बधाई दिएका छन् । साथै बिक्की र सन्तोेषलाई ताप्लेजुङमा आमन्त्रण गरे । 

उनले भने, 'तपाई हरूलाई ताप्लेजुङमा स्वागत छ । ताप्लेजुङको पाथिभरामा आफ्नो  मनकामना गर्न देश विदेशबाट आउने गर्छन् । तपाईँहरू पनि आउनुहोस् अवश्य तपाईँहरूको मनोकाङ्क्षा पुरा हुने छ ।' 

यस्तै ताप्लेजुङ एउटा पर्यटकीय गन्तव्य भएकोले एउटा कलाकारको माध्यमबाट पनि चिनाउन सकिने भन्दै ताप्लेजुङ पुगेर प्रचारमा सहयोग गर्न आग्रह गरे ।  उनले भरतमणी पौडेललाई यस अघि नै १ लाख पुरस्कार दिने घोषणा गरेका थिए । 

साथै भरतमणीलाई जिताउने पहलमा सक्रिय रुपमा लागेका थिए भने भोट गर्न पनि अपिल गरेका थिए । भरतमणी सहयोग समितिका संयोजक पिताम्बर सिग्देले भरतमणीलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै तीनै जना विजेतालाई बधाई तथा अग्रिम शुभकामना दिएका छन् । 

कमेडी च्याम्पियन सिजन २ का सेकेन्ड रनरअप सन्तोष थापाले ताप्लेजुङको एकतामा दम भएको र अब त्यहाँ भरतमणी जस्ता धेरै कलाकारको जन्म हुने बताए । यस्तै फस्ट रनरअप बिक्की अग्रवालले नेपाल आएर धेरै माया साथ सहयोग र सम्मान पाएको बताउँदै भरतमणी सहयोग समितिले गरेको सम्मान प्रति आभार प्रकट गरे । 

यस्तै कमेडी च्याम्पियन सिजन  २ का विजेता भरतमणी पौडेल आफ्नो लागि गरेको योगदान र साथ सहयोगको लागि धेरै धन्यबाद दिदै आगामी दिनका लागि पनि खबरदारी गर्न आग्रह गरे । 

उनले भने, 'हजुरहरुको साथ सहयोगले गर्दा नै मैले उपाधि जिते कसरी धन्यबाद दिउँ त्यसको कुनै शब्द म सँग छैन । अबको दिनमा कसरी अगाडि बढ्दा ठिक हुन्छ त्यो हजुरहरुले नै निर्देशन गर्नु पर्ने हुन्छ र मै के गर्दा ठिक हुन्छ  त्यसमा पनि हजुुरहरुले खबरदारी गर्नुु पर्ने छ ।' 

उक्त कार्यक्रम मार्फत ताप्लेजुङको प्रचार प्रसारका लागि सहयोग मिल्ने भन्दै यस अघि सार्वजनिक गरिएको १०१ फोटोेको किताब पनि तीनै बिजेताहरूलाई हस्तान्तरण गरिएको  छ । 

 

२ बर्ष अगाडि

प्रतिक्रिया