दसैँमा घर जान कुन ठाउँको भाडा कति ?

२ बर्ष अगाडि

दशैं मनाउन घर जानेहरुका लागि बसको अग्रिम बुकिङ असोज ११ गतेदेखि खुलाउने निर्णय भएको छ। 

बिहीबार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको संयोजकत्वमा बसेको यातायात व्यवसायी, ट्राफिक प्रहरी,प्रहरी, उपभोक्ताकर्मी लगायतको बैठकले ११ गतेबाट लामो दुरीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो। 

व्यवसायी र सरकारवीच बुकिङ खोल्न यसअघि पनि दुइपटक बैठक बसेको थियो। उनीहरुले बढेको भाडादर सबै प्रदेशले कार्यान्वयन गर्नुपर्ने, सडकहरु क्षतविक्षत भएकाले मर्मत गर्नुपर्ने माग गरेका  थिए।

उनीहरुको मागमा विभागका अधिकारीहरुले पहल गर्ने बताएपछि बुकिङ खोल्न सहमत भएका हुन्। प्रधानमन्त्री कार्यालयमा बैठक बसेर सडक मर्मतको विषय टुङग्याउने निर्णय भएको छ।

असार अन्तिम साता सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको थियो। विभागले एक प्रदेशबाट अर्को प्रदेशमा जाने लामो रुटका यात्रुवाहक सवारीसाधन, ट्रक र अन्य सवारीसाधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको हो। 

प्रदेशभित्र संचालन हुने सवारीसाधनको भाडादर वृद्धिको अधिकार प्रदेश सरकारलाई हुन्छ। संघीय सरकारले गरेको भाडावृद्धि निर्णय प्रदेश १ बाहेकले कार्यान्वयन गरेका छैनन्। सबै प्रदेशले उक्त भाडादर समायोजन गर्नुपर्ने माग व्यवसायीहरुले गर्दै आएका छन्। दशैंमा यात्रुहरुले उक्त बढेको भाडादर तिर्नुपर्ने छ।

१४ ठाउँमा नागरिक सहायता कक्ष राख्ने निर्णय भएको छ। अहिले सरोकारवाला निकायहरुको बैठक गृह मन्त्रालयमा चलिरहेको छ। जसले अनुगमनको विषयमा थप निर्णय गर्नेछ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया