पोल उपयोग गरेको र विद्युत् प्राधिकरणले निर्धारण गरेको शुल्क तिर्न आनाकानी

२ बर्ष अगाडि

काठमाडौं - इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी बिजुलीको पोल उपयोग गरेको र विद्युत् प्राधिकरणले निर्धारण गरेको शुल्क तिर्न आनाकानी गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले निर्देशनालय जारी गरेको छ । 

विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने कम्पनीहरुलाई असोज १५ गतेसम्म सम्झौतामा नआए कारबाही गर्ने चेतावनी दिँदै निर्देशनालय जारी गरेको हो । 

सम्झौतामा नआउने सेवा प्रदायकहरूको अप्टिकल फाइवर तथा अन्य उपकरणहरू जुनसुकै बेला हटाउन सकिने चेतावनी दिएको छ । प्राधिकरणले यसअघि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि सेवा प्रदायकहरु सम्झौतामा नआएको तथा बक्यौता बुझाउन आनाकानी गरेको भन्दै बिहीबार तेस्रो पटक सूचना प्रकाशित गरेको हो । 

प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन तथा इन्टरनेट केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरूमध्ये केही सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको प्राधिकरणको भनाइ छ ।

यस्तै, केही सेवा प्रदायकहरूले प्राधिकरणबाट माग भएअनुसारको जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात समेत पेस नगरी नयाँ सम्झौता नगरेको जनाइएको छ । प्राधिकरणका अनुसार कतिपय सेवा प्रदायक संस्थाहरूले परिमार्जित भाडादर भुक्तानीसमेत गरेका छैनन् ।

प्राधिकरणले असोज १५ गतेभित्र नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नका लागि सूचना प्रकाशित गरेको हो । नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न पनि सूचित गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया