दोस्रोपटक म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका रोनाल्डो पहिलो महिनामै प्रिमियर लिगको ‘प्लेयर अफ् द मन्थ’ घोषित

२ बर्ष अगाडि

एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो दोस्रोपटक क्लबमा अनुबन्ध भएपछि पहिलो महिनामै प्रिमियर लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

प्रिमियर लिगले ३६ वर्षका पोर्चुगिज फरवार्ड रोनाल्डोलाई सेप्टेम्बर महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ घोषित गरेको हो । इटालियन क्लब युभेन्टसबाट युनाइटेडमा अनुबन्ध भएका रोनाल्डोले दोस्रोपटक डेब्यू खेलमै २ गोल गरेर उत्कृष्ट सुरुआत गरेका थिए । 

उनले न्यूक्यासलविरुद्धको खेलबाट डेब्यू गरेका थिए । सो खेलमा उनले सुरुआतबाटै खेलेका थिए । त्यसपछि उनले प्रिमियर लिगमै दोस्रो खेलमा वेस्ट ह्यामविरुद्ध पनि १ गोल गरेका थिए ।

सेप्टेम्बर महिनामा रोनाल्डोले प्रिमियर लिगमा ३ खेल खेल्दै ३ गोल गरेका थिए । प्रभावशाली सुरुआतका लागि रोनाल्डोलाई प्रिमियर लिगले महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको हो । 

रोनाल्डोको प्रिमियर लिग फिर्तीलाई ठूलो महत्त्वकांक्षा र प्रतीक्षासाथ हेरिएको थियो । जसमा उनले पहिलो डेब्यू खेलमै २ गोल गरेर प्रिमियर लिगमा शानदार सुरुआत गरेका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया