अर्जेन्टिनाको सानदार जित, ब्राजिलको विजयी यात्रामा पूर्णविराम

२ बर्ष अगाडि

एजेन्सी - लियोनल मेसीले गोल गरेको दिन अर्जेन्टिनाले आज बिहान दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा उरुग्वेमाथि ३–० को विजय हासिल गरेको छ । 

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेसीले यसअघिको अन्तर्राष्ट्रिय ‘ब्रेक’मा पेलेको कीर्तिमान तोडेका थिए । दक्षिण अमेरिकी फुटबलमा पेलेको नाममा सबैभन्दा धेरै ७७ गोल गर्ने कीर्तिमान थियो । मेसीले अर्जेन्टिनाको जर्सीमा ८० गोल गरिसकेका छन् । उनले बेलिभियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै पेलेको कीर्तिमान तोडेका थिए । 

अर्जेन्टिनाबाट सबैभन्दा धेरै गोल गर्ने मेसीले ३८औं मिनेटमा गरेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा रोड्रिगो डी पाउलले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । ६२औं मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले सहज विजय हासिल गरेको हो । 

यस्तै दक्षिण अमेरिकी विश्व कप छनोटमा ब्राजिलको विजयी यात्रामा कोलम्बियाले सोमबार बिहान पूर्ण विराम लगाइदिएको छ । कोलम्बियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो ।  

छनोट प्रतियोगितामा लगातार ९ खेलमा विजय हासिल गरेको ब्राजिल पहिलो पटक बराबरीमा रोकिएको हो । यसअघि ब्राजिल र अर्जेन्टिनाबीचको खेल सात मिनेट खेलेर स्थगित भएको थियो । 

कोलम्बिया भ्रमणमा ब्राजिल बराबरीमा रोकिए पनि २८ अंकका साथ शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंकले अगाडि हो । ११ खेलबाट १५ अंक जोडेको कोलम्बिया पाँचौं स्थानमा छ । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया