वडा र पालिका अधिवेशन एकैपटक गर्ने पार्टीको निर्देशनप्रति अष्टलक्ष्मीको असन्तुष्टि, आज विश्वासको मत लिदैं

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेकी उपाध्यक्ष तथा वाग्मती प्रदेशसभाका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् ।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखिन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन् ।

नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन् । शाक्यले आज अपराह्न बस्ने बैठकमा विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरे लगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

आजको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको उनले जानकारी दिए । वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया