राजेन्द्र लिङ्देनद्धारा राप्रपा अध्यक्षमा उमेदवारी घोषणा, रेखाले साथ दिने

२ बर्ष अगाडि

काठमाडौं - राप्रपा सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल रहने घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने पनि बताए ।

'अध्यक्षत्रयबाट  पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौँ है भनेर हामीले कार्यक्रम गरेका हौँ । धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु,' उनले भने, 'म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो । त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो ।'

महामन्त्रीमा उमेदवारी दिने तयारी गरेका राणाले आफूहरु राजासहितको प्रजातन्त्रको पक्षमा रहेको र हिन्दु राष्ट्रको चाहना गरिएको बताए ।

साथै अभिनेत्री रेखा थापाले अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन् । मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन शुरु हुँदैछ । 

लिङ्देनको उम्मेदवारी घोषणा कार्यक्रममा रेखा उपस्थित भएकी छन् । रेखाले सबै पार्टीमा युवा पुस्ताको नेतृत्व आउनुपर्ने भएकाले आफूले लिङ्देनलाई साथ दिएको बताएकी छन् ।

रेखा २०७३ सालमा अध्यक्ष कमल थापाको प्रशंसा गर्दै राप्रपामा प्रवेश गरेकी थिइन् । राप्रपामा प्रवेश गर्नुअघि उनी नेकपा माओवादी केन्द्र निकट मानिन्थिन् । 

तत्कालीन नेकपा माओवादीको एक कार्यक्रममा अध्यक्ष प्रचण्डसँग सिंहदरबार अगाडि नाचेपछि रेखा राजनीतिक वृत्तमा पनि चर्चामा आएकी थिइन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया