पार्टीलाई वैचारिक तथा सङ्गठनात्मक रुपमा थप एकताबद्ध बनाउनु दशौँ महाधिवेशनको सङ्कल्प हो : योगेश भट्टराई

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई सङ्गठनात्मक क्षेत्रमा देखापरेका अराजकता तथा दक्षिणपन्थी अवसरवादविरुद्ध निर्णायक विजय प्राप्त गरी जबजका मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्नु तथा पार्टीलाई वैचारिक तथा सङ्गठनात्मक रुपमा थप एकताबद्ध बनाउनु दशौँ महाधिवेशनको सङ्कल्प हुने बताएका छन् । 

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले मुलुकको देशभक्त, प्रगतिशील, अग्रगामी तथा क्रान्तिकारी शक्ति हुनाको नाताले  एमालेले यथास्थितिवादी, दक्षिणपन्थी तथा फुटपरस्त अवसरवादीको चौतर्फी हमलाबाट आज आफूलाई बचाएर ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न फेरि सरकारको नेतृत्व लिनुपर्ने अपरिहार्य भएको जिकिर गरे । 

“पार्टीका सामु रहेका चुनौतीलाई परास्त गर्दै इतिहासले सुम्पिएका राष्ट्रिय कार्यभार पूरा गर्न एमालेको सुदृढ एकता पहिलो र अनिवार्य शर्त हो । महाधिवेशनका प्रतिनिधि छनोटका क्रममा आम पार्टी सदस्यले देखाएको समझदारी यसको सुखद सङ्केत हो”,  भट्टराईको बुझाइ छ, “हामी पार्टीका सम्पूर्ण सदस्यप्रति यस कार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौंँ । अब अझ उन्नतस्तरको एकता निर्माणको काम नेतृत्वको काँधमा आएको छ । एमालेका लागि एकता, एकता र अझ सुढृढ एकतामार्फत पार्टीव्यापी रुपमा कमरेडली सम्बन्धलाई कसिलो बनाउनु बाहेक अर्को विकल्प छैन ।”

२ बर्ष अगाडि

प्रतिक्रिया