एमाले अध्यक्षमा ओलीले भारी मत ल्याउँदा अष्टलक्ष्मीलाई सर्वाधिक, कसलाई कति मत ?

बुधबार, १५ मंसिर २०७८, ०७ : ३७

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । सहमतिको प्रयास असफल भएपछि भएको निर्वाचनमा ओली अत्यधिक मत ल्याएर विजयी भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाका अनुसार अध्यक्षमा ओलीले १८ सय ३७ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी डा। भीम रावलले २ सय २३ मत ल्याएका छन् । दुई जनाको मतान्तर १ हजार ६ सय १४ रहेको छ । आयोगका अनुसार ३३ भोट भने खाली पाइएको थियो । २ हजार १ सय ५३ जना प्रतिनिधि रहेकामा २ हजार ९६ मत खसेको थियो ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले मत परिणाम छिटै सार्वजनिक भएको हो । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधिको मत रेकर्ड भएको थियो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायत सबै पदाधिकारीमा अध्यक्ष ओलीले प्रस्तावित गरेका व्यक्ति नै विजयी भएका छन् । ६ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सात जना प्रतिस्पर्धी थिए ।

मतदानमा अष्टलक्ष्मी शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् । यस्तै सुरेन्द्र पाण्डे १९ सय २५ मत, सुवासचन्द्र नेम्वाङ १८ सय ६५ मत, विष्णु पौडेल १८ सय ५६ मत, युवराज ज्ञवाली १८ सय ४२ मत र रामबहादुर थापा ‘बादल’ १७ सय ६८ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् ।

उपाध्यक्षका प्रतिस्पर्धी घनश्याम भुसालले ७ सय २५ मत प्राप्त गरी पराजित भए । सात सचिव पदका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले १९ सय ७४, योगेश भट्टराईले १९ सय ६०, पद्मा अर्यालले १८ सय, छविलाल विश्वकर्माले १८ सय ३, लेखराज भट्टले १७ सय ४, टोपबहादुर रायमाझीले १८ सय ४ रघुवीर महासेठले १५ सय मत ल्याएर सचिवमा विजयी भएका छन् । सचिवका उम्मेदवार भीम आचार्यले ७ सय ८८ र टंक कार्कीले ५ सय ५९ मत ल्याएर पराजित भएका छन् । १९ सदस्यीय पदाधिकारीमा पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । 

बुधबार, १५ मंसिर २०७८, ०७ : ३७

प्रतिक्रिया