राप्रपा अध्यक्षमा नवनिर्वाचित राजेन्द्र लिङ्देन को हुन् ?

२ बर्ष अगाडि

काठमाडौं - राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो ।

२०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका राजेन्द्र लिङ्देन झापाका स्थायी बासिन्दा हुन् । बुवा प्रहरीमा भएकाले उनको बसाइ भने झापा जिल्लामै भएको थियो ।

राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुरु गरेका हुन् । राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन्। लिङ्देनले २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापबाट वडाध्यक्ष जितेका थिए ।

२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समेत बनेका लिङ्देन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नम्बर ३ मा तेस्रो र २०७० सालको चुनावमा दोस्रो मत ल्याएर पराजित भए ।

उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए । उनै लिङ्देनले कांग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गर्दै २०७४ को प्रतिनिधिसभामा विजयी भएका थिए ।

समान्य परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीलाई शून्य सिटबाट जोगाएर वाहवाही पाएका थिए ।

लिङ्देन २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङ्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भए ।

२ बर्ष अगाडि

प्रतिक्रिया