विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

२ बर्ष अगाडि

काठमाडौं - चलचित्र विकास बोर्डले दुईवर्षपछि ४ बैशाख, २०७९ मा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न गरेको छ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाको कारणले २०७६/०७७ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । 

यसपटक समारोहमा २०७६/२०७७ गरी दुई वर्ष सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूमध्येबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । दुई वर्षमा सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू संयुक्तरूपमा निर्णायक समितिले १० विधामा पुरस्कारका लागि बोर्डलाई सिफारिस गरेको थियो । 

उक्त १० विधागत पुरस्कृतहरूलाई प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी सहित पुरस्कृत गरिएको छ । २०७६/०७७ सालमा केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूमध्येबाट चारवटा चलचित्रलाई विशेष चलचित्रबाट पुरस्कृत गरिएको र दुबै निर्णायक समितिलाई समेत सम्मान गरिएको छ । 

समारोहमा २०७६/२०७७ को दीर्घ साधना सम्मानबाट दुईजनालाई जनही नगद पुरस्कार ३ लाख ५१ हजार १ सय ११ रूपैयाँ, ताम्रपत्र तथा दोसल्ला सहित सम्मान तथा चलचित्र क्षेत्रका विभिन्न विधाका ३३ जना विशिष्ट व्यक्तित्वहरूलाई समेत विशेष योगदान सम्मानबाट सम्मान गरिएको छ । 

प्रमुख अतिथि राष्ट्रपति विधादेवी भण्डारीबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको यस कार्यक्रममा माननीय सञ्चार, सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विशिष्ट आतिथ्यता र चलचित्र विकास बोर्डका अध्यक्ष श्री दयाराम दाहालको अध्यक्षता सहितको उपस्थितिमा समारोह सम्पन्न भएको छ ।

यसै कार्यक्रममा बोर्डबाट प्रकाशन भएको चलचित्र मञ्च २०७८ पुस्तक समेत सार्वजनिक गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया