काठमाडौं, नेपाली बजारमा जावाको नयाँ मोटरसाइकल जावा ४२ २.१ बीएस६ भर्सनको बुकिङ खुला भएको छ । जावाको आधिकारिक वितरकअग्नि मोटो इंकले बुकिङ खुला गरेको छ ।
जावाको सोरुममार्फत १५ हजार रुपैयाँ तिरेर मोटरसाइकल बुकिङ गर्न सकिने छ । बुकिङ गर्ने ग्राहकलाई राइडिङ ज्याकेट समेत प्रदान गरिने कम्पनीको भनाइ छ ।
नेपाली बजारमा जावा ४२ बीएस६ सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस पहिले देखि नै उपलब्ध छन् । यी मोटरसाइकलको मूल्य क्रमशः ६ लाख ७३ हजार र ७ लाख ४ हजार रुपैयाँ तोकिएको छ । अब उपलब्ध हुने जावा ४२ २.१ को मूल्य ७ लाख ५८ हजार रुपैयाँ तोकिएको छ ।
जावाका मोटरसाइकलमा आइकनिक ४२ ब्याजिङका साथ क्लासिक स्पोर्ट्स स्टाइलिङ दिइएको छ । यसको एक्जस्ट पाइप, इन्जिन र सस्पेन्सन सेटअपमा म्याट ब्ल्याक फिनिस दिइएको छ । यसको कोर डिजाइनमा भने कुनै परिवर्तन गरिएको छैन ।
यद्यपि यो मोटरसाइकल उही राउन्डेड हेडल्याम्प, सिंगल पिस ह्यान्डल बार र अफसेट एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट मिटर सहित उपलब्ध छ ।
यसको फ्रन्ट हेडल्याम्पलाई एक्स आकारको ब्ल्याक ग्रिल तथा ब्ल्याक भाइजरले अझै स्पोर्टी बनाएको छ । त्यसैगरी स्पोक ह्विललाई ट्युबलेस टायरले परिमार्जन गरेको छ भने सिट पनि पहिले भन्दा थप कुशनयुक्त बनेको छ ।
यो मोटरसाइकलमा भएको २९३ सीसी इन्जिनले २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क जेनेरेट गर्छ । यो ६–स्पिड ट्रान्समिसनमा जोडिएको छ भने १३ लिटरको इन्धन ट्यांकी छ ।
ड्युअल डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस भएको यो मोटरसाइकल रेड, ब्ल्याक र ह्वाइट गरी तीन कलरमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया