'क्लिन स्विप' गरेको मैवाखोलामा यस पटक एमालेलाई पत्याएनन् जनताले

१ बर्ष अगाडि

काठमाडौं - यो पटकको स्थानीय निर्वाचनमा ताप्लेजुङ जिल्लाका लागि नेकपा एमालेले सबैभन्दा धेरै घाटा बेहोर्नु परेको गाउँपालिका होे मैवाखोला । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा नेकपा एमालेले क्लिन स्विप  गरेको थियो । ६ वटा वडा रहेको उक्त गाउँपालिकामा ६ वटै वडामा नेकपा एमालेले विजयी हासिल गरेको थियो । यो गाउँपालिकामा वि. सं. २०४८ साल देखि नै नेकपा एमालेले कब्जा गर्दै आएको त्यहाँका स्थानीयवासी बताउँछन् । 

तर, यो पटकको निर्वाचनमा भने एमालेको लाल किल्ला नै भत्किएको छ । वडा नं. ६ बाहेक सबै वडा र गाउँपालिका गठबन्धनको कब्जामा गएको छ । विषेश गरि यो गाउँपालिकालाई एमालेको गणको रूपमा लिने गरिन्थ्यो । जननेता मदन भण्डारी साथै नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्व मन्त्री योगेश भट्टराईको गाउँपालिका पनि भएकोले यो गाउँपालिकालाई एमालेका लागि विषेश रूपले हेरिने गरिन्छ । 

यो गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजय प्रकाश वनेम विजयी भएका छन् । एमालेका राजन कुमार थक्लुङलाई ५५७ मतले पछि पार्दै वनेम पालिका अध्यक्षमा विजयी भएका हुन् । वनेमले २ हजार ६०९ मत प्राप्त गर्दा थक्लुङले २ हजार ५२ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चरणकुमार मुसुहाङले ४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसकी कमल कुमारी लिम्बुले एमालेकी कौशिला थक्लुङलाई ४४० मतले पछि पार्दै विजयी भएकी छन् । लिम्बुले २ हजार ५४१ मत ल्याउँदा थक्लुङ २ हजार १०१ मत प्राप्त गरेकी छन् । 

एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदका लागि पुराना अनुहारलाई दोहोर्‍याएको थियो तर, यो पटक जनताले पुरानो भन्दा नयाँलाई प्राथमिकतामा राखेको देखिन्छ । जिल्लाको समग्र पालिकाहरू साथै वडामा पुराना अनुहारलाई नरुचाएको देखिन्छ ।  यो गाउँपालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेको हुनाले पनि नतिजा यहाँ पुगेको हुनसक्छ ।  

२०७४ सालको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा अहिले पराजित भएका राजन कुमार थक्लुङले १ हजार ८१८ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसका डम्बर बहादुर लिम्बुले १ हजार २१९ मत, माओवादी केन्द्रका नवीन वनेमले ८६९ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कुमार लिम्बुले ४९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बेनु प्रसाद नेवार ३७ मत प्राप्त गरेका थिए । 

वडा नम्बर १
वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका चन्द्र कुमार तामाङ विजयी भएका छन् । चन्द्र कुमार तामाङले ४९५ मत प्राप्त गर्दा एमालेका दुर्गा प्रसाद तामाङले ३८४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमेश लिम्बुले १९ मत प्राप्त गरेका छन् ।

त्यस्तैगरि गठबन्धनको तर्फबाट माओवादीका खुल्ला सदस्यमा राम कुमार चोङबाङ ४९६ र गणेश लिम्बु ४७६, महिला सदस्यमा विनु लिम्बु ४९२, दलित महिला सदस्यमा ममता वि।क। ४९४ मत ल्याएर विजयी भएका छन् ।

यो वडामा २०७४ सालको निर्वाचनमा एमालेले नैै विजयी हासिल गरेको थियो । वडा अध्यक्षमा एमालेका दुर्गा प्रसाद तामाङले ३१९ मत ल्याएर विजयी भएका थिए । तर उनी यस पटक उनै हारेका माओवादी केन्द्रका चन्द्र कुमार तामाङ सँग पराजय भोग्न बाध्य भएका छन् । अघिल्लोे निर्वाचनमा उनले २८४ मत प्राप्त गरेका थिए ।

वडा नम्बर २
वडा नं. २ मा एकीकृत समाजवादीको प्यानलै विजयी भएको छ । एकीकृत समाजवादीका नरेन्द्र लिम्बू वडा अध्यक्षमा विजयी भएका छन् । उनले ३७१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका लोकमान वनेमले ३४६ साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण बहादुर लिम्बूले १७ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा दानुपु शेर्पा ३६२, रविन्द्र कुमार वनेम ३६०, महिला सदस्यमा दिलमाया शेर्पा ३७१ साथै दलित महिला सदस्यमा तुलसा बराईली ३७१ मत प्राप्त गर्दै एकीकृत समाजवादीको तर्फबाट सदस्यमा विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा वडा नम्बर दुईको वडा अध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको थियो । उक्त वडामा नेकपा एमालेका सुरेन्द्र लिम्बुले ४१५ मत ल्याएर विजयी भएका थिए । 

तर, अहिले उनी नेकपा एकीकृत समाजवादीमा छन् । उनका प्रतिस्पर्र्धीहरु माओवादी केन्द्रका पदम लिम्बुले १०७ मत पाएका थिए भने नेपाली कांग्रेसका सरोज सुनुवारले ३८ प्राप्त गरेका थिए । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमेश वनेम लिम्बुले ३५ मत पाएका थिए । 

वडा नम्बर ३
वडा नं। ३ मा काँग्रेसका खगेन्द्र थक्लुङ विजयी भएका छन् । ७० मतले आफ्ना प्रतिस्पर्धी एमालेका खेमराज भट्टराईलाई पछि पार्दै थक्लुङ विजयी भएका हुन् । थक्लुङले ४७० मत प्राप्त गर्दा भट्टराईले ४०० मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा चन्द्रमान लिम्बू ४५९, साजन लिम्बू ४४६, महिला सदस्यमा नर कुमारी लिम्बू ४४४ र दलित महिला सदस्यमा ईन्दिरा विश्वकर्मा ४२९ मत प्राप्त गर्दै काँग्रेसबाट सदस्यमा विजयी भएका छन् ।

उक्त वडामा अघिल्लो निर्वाचनमा एमालेका थर्क कुमार चोङवाङले ४०२ मत ल्याएर विजयी हासिल गरेका थिए । यस्तै उनका पतिस्पर्धीहरु नेपाली काँग्रेसका टेकनाथ लिम्बुले ३०२ मत ल्याएका थिए । उनको निधन भइसकेको छ । यस्तै माओवादी केन्द्रका सुरेश मान पाङमा ५१ मत पाएका थिए । यो वडा पूर्व मन्त्री योगेश भट्टराईको वडा पनि हो । 

वडा नम्बर ४
 वडा नं. ४ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट फुर्बा शेर्पाले ९ नेपाली काँग्रेस० ४६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका मिङमा छोक्टु शेर्पाले ४४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै गरि गठबन्धनका तर्फबाट महिला सदस्यमा सुनिता फागो ४५४, दलित महिला सदस्यमा सरस्वता धमला बराईली ४५८, खुल्ला सदस्यमा मिङमा शेर्पा ४५४ र प्रेनल घिसिङ तामाङ ४५५ मत ल्याएर विजयी भएका छन् । 

अघिल्लो निर्वाचनमा यस वडामा नेकपा एमालेका पूर्ण हाङ् लिम्बुले ३१२ मत ल्याएर विजयी हासिल गरेका थिए । उनका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसका कमल राज लिम्बू (श्रेङ) ले २५४ ल्याएका थिए । यस्तै माओवादी केन्द्रका पेम्वा स्याङबु शेर्पाले १९४ मत प्राप्त गरेका थिए । 

वडा नम्बर ५
वडा नं. ५ मा पनि गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका केशर लिम्बू विजयी भएका छन् । उनले ४२८ मत ल्याएका छन् भने पराजित भएका उनका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कूलप्रसाद लिम्बूले २७४ मत ल्याएका छन् ।

यस्तै महिला सदस्यमा सोमकुमारी लिम्बू, दलित महिला सदस्यमा मनिसा बराइली, खुला वडा सदस्य एकमा सुरेश वनेम, वडा सदस्य दुईमा लाक्पा शेर्पा विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा यस वडाकोे वडा अध्यक्षमा एमालेका यस पटक पराजय हुने कूल प्रसाद लिम्बुले २२६ मत प्राप्त गरी विजयी भएका थिए । यस्तै उनका प्रतिस्पर्धी यस पटक विजयी हुने माओवादी केन्द्रका केशर लिम्बुले १७९ मत पाएका थिए भने नेपाली कांग्रेसका टका राजले १७२ मत ल्याएका थिए । साथै राष्ट्रिय जनमुक्ति पार्टीका ओजाहाङ लिम्बू (वनेम) ले ५ मत  पाउँदा स्वतन्त्र तर्फका राम बहादुर बस्नेतले शुन्य मत पाएका थिए  । 

वडा नम्बर ६
यो पटक मैवाखोलामा एमालेले वडा नम्बर ६ मात्र सुरक्षित गर्न  सकेको छ । यस वडामा वडाध्यक्ष सहित प्यानल नै विजयी भएका छन् । एमालेका राजुमान लिम्बुले ३९१ मत प्राप्त गरि विजयी बनेका हुन् । उनका प्रतिस्पर्धि गठबन्द कांग्रेसका उम्मेदवार सन्तकुमार थोप्राले ३६८ मत प्राप्त गरेका छन् ।

अघिल्लोे निर्वाचनमा विष्णु प्रसाद नेयोङले २७३ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसका सन्त कुमार थोप्राले २३७ मत पाएका थिए भने माओवादी केन्द्रका प्रेम कुमार नेयोङले ४० मत पाएका  थिए । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया