इटालीलाई पाराजित गर्दै अर्जेन्टिना बन्यो सुपरच्याम्पियन टिम, मेस्सी उत्कृष्ट खेलाडी साबित

१ बर्ष अगाडि

एजेन्सी - गत वर्षको कोपा अमेरिका फुटबलको च्याम्पियन अर्जेन्टिनाले ‘२०२२ फिनालीसिमा’को उपाधि जितेको छ । गत वर्षको युरो कप च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै महादेशस्तरको उपाधि हात पारेको हो । 

‘२०२२ फिनालीसिमा’ गत वर्षको कोपा अमेरिका च्याम्पियन र गत वर्षकै युरो कप च्याम्पियन बीच खेलाइएको प्रतियोगिता हो । यो उपाधि जितेसँगै अर्जेन्टिना सुपरच्याम्पियन टिम बनेको छ । 

अर्जेन्टिनाले युरोपको च्याम्पियन इटालीमाथि शानदार जित निकालेर उक्त उपाधि हात पारेको हो । बेलायतको लन्डनस्थित वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जिताउन ३ जना खेलाडीले गोल गरेका थिए । कप्तान मेस्सीले खेलमा २ गोलमा असिस्ट गरे ।

खेलको सुरुआतमा अर्जेन्टिना केही दबाबमा परे पनि त्यसपछि उसले खेलमा लय समात्दै खेलको २८औं मिनेटमा गोल गर्न सफल भएको थियो । कप्तान लिओनल मेस्सीको पासमा युवा स्टार लौटारो मार्टिनेजले गोल गरी टिमलाई अग्रता दिलाएको थियो ।

त्यसपछि अर्जेन्टिनाले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनायो । पहिलो गोल गरेका मार्टिनेजले चलाखीपूर्वक दिएको क्रस पासमा एन्जल डि मारियाले बललाई चिप प्रहार गर्दै अर्जेन्टिनाले पहिलो हाफमा २–० को सहज अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ९१औं मिनेटमा मैदान छिरेका पाउलो डिबालाले ९४औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाको ३–० को शानदार जित पक्का भयो । डिबालाको गोलमा पनि कप्तान मेस्सीले नै असिस्ट प्रदान गरेका थिए ।

पेरिस सेन्ट जर्मेन ९पीएसजी० का ३४ वर्षीय मेसीले खेलमा सबैको मन जित्ने प्रदर्शन गरे र आफूलाई फेरि एकपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडी साबित गरे ।

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ मा ब्राजिललाई हराएर उपाधि जितेको थियो र यस वर्ष कतारमा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ । अर्जेन्टिनाले २८ वर्षको पर्खाइपछि कोपा अमेरिका जितेको थियो । अहिले ३२ खेलको अपराजित यात्राबाट गुज्रिरहेको अर्जेन्टिना विश्वकप उपाधिका लागि पनि बलियो प्रत्यासी बनेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया