काठमाडौं - साझा यातायातका बिजुली बस आजबाट काठमाडौंमा सञ्चालनमा आउने भएको छ ।
साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा बिजुली बस सञ्चालन गर्ने भएको हो । बिहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसले औपचारिक रुपमा सेवा शुभारम्भ गर्नेछन् । यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ ।
चीनको सीएचटीसीएचओ कम्पनीले यी बिजुली बस तयार गरेको हो । चीनमै ग्रेडबिलिटी टेस्ट (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि ती बस साझाले नेपाल भित्र्याएको हो ।
अब बाँकी ३७ वटा बिजुली बस पनि ल्याउने तयारीमा साझा रहेको छ । साझाले प्रतिबस १ करोड ५० रुपैयाँ सीएचटीसीएचओलाई तिरेको छ । हाल सञ्चालनमा आउन लागेको बिजुली बस ९ मिटर लामो छ । अब किनिने बस १२ मिटर लामा हुने साझाले जनाएको छ ।
अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाण्डौमा आएका छन् । यी बसमा वाइफाइ, टीभी डिस्प्ले, सीसीक्यामेरालगायतका विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्याम्पको सुविधा पनि छ ।
सीएचटीसीएचओसँग चार्जसहित ५ वर्षसम्म सबैखालको मर्मत सुविधा पनि दिनुपर्ने गरी खरिद सम्झौता भएको साझाले जनाएको छ ।
प्रतिक्रिया