विज्ञापन प्रकाशित नगरेको अभियोगमा १ सय ४८ म्यानपावरलाई ५० हजारका दरले जरिवाना

शनिबार, १४ साउन २०७९, ०९ : २८

काठमाडौं - वैदेशिक रोजगार विभागले तोकिएको मितिमा विज्ञापन प्रकाशित नगरेको अभियोगमा १ सय ४८ म्यानपावर कम्पनीलाई  ५० हजार रूपैयाँका दरले जरिवाना गरेको छ । 

विभागले साउन ३ र ४ गतेको मितिमा विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशन गर्न विभागबाट पूर्व स्वीकृतिको अनुमति लिएर विज्ञापन नगरेको विषयमा १४४ र अनुमति बिना नै विज्ञापन गर्ने ४ गरी १ सय ४८ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार ५० हजार रूपैयाँका दरले जरिवाना गरेको निर्देशक डम्बर सुनुवारले बताएका छन् । 

विभागले त्यससम्बन्धी सूचना शुक्रबार नै आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरूले नियतवश नभई प्राविधिक कारणले विज्ञापन प्रकाशित नभएको भन्दै एक पटकलाई जरिवाना नगरी सचेतसम्मको कारबाहीको माग गरे पनि विभागले जरिवाना नै गरेकोे विभागमा खटिएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका समस्या सहजीकरण प्रतिनिधि कर्ण कटुवालले जानकारी दिए । 

१ सय ४८ कम्पनीलाई गरिएको जरिवानाबाट विभागले करिब पौने एक करोड रकम असुलेको छ । ऐनको दफा ४९ मा पूर्व स्वीकृति लिई विज्ञापन नगरेमा वा स्वीकृति नलिई विज्ञापन गरेमा सचेत गराउने देखि ५० हजार रूपैयाँ जरिवाना गरी त्यस्तो विज्ञापन रद्द हुने व्यवस्था छ । त्यस्तै विज्ञापन प्रकाशित गरेर कामदार छनोट भएपछि विभागलाई जानकारी नदिएमा पनि ५० हजार रूपैयाँ जरिवाना हुने व्यवस्था छ ।

शनिबार, १४ साउन २०७९, ०९ : २८

प्रतिक्रिया