इजरायल रोजगारीमा छनोट भइ पुनः स्वास्थ्य परीक्षण नगराएकाहरुलाई स्वास्थ्य परीक्षण गराउन आग्रह

शनिबार, ०४ भदौ २०७९, ०८ : १६

काठमाडौं -  वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा छनोट भएका तर पुनः स्वास्थ्य परीक्षण नगराएकाहरुलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ । 

विभागले शुक्रबार एक सूचना जारी गर्दै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार पदका लागि छनोट भई विभागले दिएको समयसीमाभित्र पुनः स्वास्थ्य परीक्षणमा उपस्थित हुन नसकेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको हो ।

विभागले पुनः स्वास्थ्य परीक्षण नगराएका २२ जनाको सूची सार्वजनिक गर्दै उनीहरुलाई भदौ ५ गतेदेखि भदौ ९ गतेसम्ममा पुनः स्वास्थ्य परीक्षण गराउन सूचित गरेको छ । 

साथै विभागले कोभिड–१९ विरुद्धको खोप लगाइ सो को प्रमाणपत्र र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैसेपाटीमा रहेको इजरायल सम्पर्क शाखामा बुझाउनसमेत भनेको छ ।

त्यस्तै विभागले सम्बन्धित उम्मेदवारले अनिवार्यरुपमा तीन प्रति पासपोर्ट साइजको रंगीन फोटो र आफ्नो राहदानीको प्रतिलिपि लिएर आउनसमेत सूचित गरेको छ ।

विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रको रोजगारीका लागि एक हजार १ सय ४७ जना छनोट गरेको थियो । त्यसमा ७० प्रतिशत महिला कामदार छन् । 

विभागले छनोट भएकाहरुलाई चरण–चरणमा गरेर इजरायल पठाइरहेको छ । त्यस्तै इजरायलले नेपालबाट थप एक हजार कृषि कामदार लैजाने निर्णय पनि गरिसकेको छ ।

शनिबार, ०४ भदौ २०७९, ०८ : १६

प्रतिक्रिया