नाडा विद्युतीय अटोशोमा नयाँ विद्युतीय गाडी नेपाल भित्रिने, मूल्य कति ?

शनिबार, ११ भदौ २०७९, १४ : २३

काठमाडौं - नेपालमा अगामी असोजमा हुने भनिएको नाडा विद्युतीय अटोशोमा नयाँ विद्युतीय गाडी नेपाल भित्रिने भएको छ । नेपालका लागि वुलिङ मिनिको आधिकारीक वितरक बज्र समुहले दशैं र नाडा अटो शोका लागि यो गाडी ल्याउने भएको हो ।

कम मूल्यको सानो ईभी खोज्नेका लागि टार्गेट गर्दै कम्पनीले नेपालको शहरी क्षेत्रमा उपयुक्त हुने वुलिङ मिनि एयर आउँदै छ । इन्डोनेशियामा उत्पादन भएर नेपाल आउने तयारीमा रहेको यो गाडी कम मुल्यको इलेक्ट्रिक गाडी खोज्नेको लागि उत्कृष्ट छ ।

नेपालमा विगत ५ महिनादेखि इन्धनबाट चल्ने गाडी आयातमा पूर्ण प्रतिबन्ध रहेको कारण नेपालमा नयाँ नयाँ विद्युतीय गाडीका ब्रान्ड भित्रिरहेका छन ।जसले गर्दा नेपालमा विद्युतीय गाडी खरिद र बुकिङ गर्ने ह्वातै बढेका छन ।

यो गाडीको लम्बाई २९७२ एमएम, चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको कम्पनीले जनाएको छ । केहि दिन भित्रै नेपाल आउने यो गाडी दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध गराउने तयारी छ ।

दुई भेरियन्ट मध्ये १७ किलोवाट आवरको ब्याट्री जडित गाडीले २०० किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ । त्यसैगरी, यसमा ३० किलोवाट क्षमताको मोटर रहने छ । साथै, लङ माइलेज दिने मोडलमा ५० किलोवाट क्षमतामा मोटर उपलब्ध गराइएको छ ।

२८ किलोवाट आवर व्याट्री अप्सनमा रहेको यो भेरियन्टले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । सानो, डिजाइन राम्रो रहेकाले पनि यो गाडी ग्राहकको रोजाइमा पर्ने बताइएको छ ।

हालसम्म नाडा अटोशोमा सार्वजनिक गर्ने अथवा दशैं लक्षित गरि प्रक्रिया अघि बढाउने टुङ्गो छैन् । नेपाली बजारमा यो गाडी आउँदा २५ देखि २८ लाख पर्ने अनुमान गरिएको छ ।

शनिबार, ११ भदौ २०७९, १४ : २३

प्रतिक्रिया