अख्तियार आयुक्त पाठकको घूस प्रकरण : उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप

शुक्रबार, ०३ फागुन २०७५, ०८ : ०५

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ ।

पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यहाँ राखेर विभिन्न पक्षसँग मोलमोलाइ गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो।

उनले घुस लिएकाेबारे भिडियो  प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही उच्च पदस्थहरूले करिब ४ महिनाअघि नै हेरिसकेका थिए । तर उनीहरू बिहीबार मात्रै बोल्न थाले जब अख्तियारका आयुक्त राजनारायण पाठकले घूस लिएको त्यो भिडियोबारे समाचार सार्वजनिक भयो । ‘उच्च पदस्थहरू’ यति लामो समय किन गुपचुप रहे ?

घटना डेढ वर्षअघिको हो । ‘झन्डै ४ महिनाअघि नै यो भिडियो प्रधानमन्त्री कार्यालयसहित केही उच्च पदस्थ सरकारी अधिकारीहरूसमक्ष पुगिसकेको थियो,’ स्रोतले भन्यो, ‘उनीहरूले अनुकूल समयमा कारबाही अघि बढाउने भन्दै पर्खन आग्रह गरिरहेका थिए ।’ प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमक्ष पनि यो सूचना पुगेको थियो । तर उनीहरूले पनि यसलाई बाहिर ल्याउन चाहेनन् ।

उच्च पदस्थ सरकारी अधिकारीहरू, महान्यायाधिवक्ता अग्नि खरेल, विभिन्न दलका नेता र अन्य स्रोतहरूसँगको कुराकानीबाट थाहा भएअनुसार प्रधानमन्त्री ओली, उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानुनमन्त्री भानुभक्त ढकाल, सञ्चारमन्त्री गोकुल बाँस्कोटालगायत यसबारे जानकार थिए ।

‘उनीहरूले गृहसचिव प्रेम राईमार्फत भिडियो पाएका थिए,’ स्रोतले दाबी गर्‍यो, ‘प्रधानमन्त्री निवास बालुवाटारमै सामूहिक रूपमा भिडियो हेरिसकेका थिए ।’ स्रोतका अनुसार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि भिडियोबारे जानकारी थियो ।

दुईपटक सूचना पुर्‍याउँदासमेत उनले कुनै प्रतिक्रिया नदिएपछि भिडियो खिच्ने समूहले अन्त पनि जानकारी गराउँदै कारबाहीका लागि आग्रह गरेको थियो । भिडियोले आफू अप्ठ्यारोमा परेपछि आयुक्त पाठकले कांग्रेस नेता विमलेन्द्र निधिसँग सहयोगको आग्रहसमेत गरेका थिए । तर निधिले पाठकलाई सहयोग त गरेनन्, भिडियोबारे पनि कहीँ कतै बोलेनन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

शुक्रबार, ०३ फागुन २०७५, ०८ : ०५

प्रतिक्रिया