काठमाडौं - वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस०मा सुधारका लागि सरोकारवाला पक्षबाट सुझाव माग गरेको छ । विभागले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई छिटो छरितो एवं व्यवस्थित गर्न २०७२ सालदेखि उक्त पोर्टल प्रयोगमा ल्याएको थियो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित व्यवसायीले लामो समयदेखि प्रणालीमा रहेका समस्या समाधान नहुँदा श्रम स्वीकृतिका लागि समय र लागत अनुचितरुपमा बढेको भन्दै लिखित तथा मौखिकरुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा विभागको ध्यानाकर्षण गराउँदै आएका छन् ।
खासगरी शून्य लागतमा कामदार पठाउनुपर्ने बाध्यतामा रहेका आफूहरुले एउटै विज्ञापन हप्तैपिच्छे पटकपटक दोहोर्याएर प्रकाशन गर्नुपर्ने गरी प्रणालीले सिर्जना गरेकोे बाध्यताले अनुचितरुपमा लागत र झन्झट थपेको व्यवसायीहरुको गुनासो छ ।
फेमिस समस्याको समाधानका लागि मन्त्रालयले कार्यदलसमेत गठन गरेको छ । प्रणालीमा देखिएका समस्या समाधानका लागि विभागले मंसिर १० गतेसम्म अनलाइनमार्फत सुझाव दिन सकिने बताएको छ ।
विभागले प्रणालीमा हाल रहेका समस्याको समाधान तथा भविष्यमा गरिनुपर्ने सुधारका विषयमा केन्द्रित भएर सुझाव पठाउनसमेत आग्रह गरेकोे छ ।
प्रतिक्रिया