नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

१ बर्ष अगाडि

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज मंसिर १८ गते सम्पन्न ३४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को लाभांश अनुमोदन गरेको छ।

कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। नियामक निकायले यही २०७९ साल चैत मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयर लाभांशबाट कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ पुगेको छ। बाँकी रहने चुक्तापुँजी आगामी दिनमा तोकिएको समयभित्र सहज रुपमा पुग्ने स्थिति छ।

सभामा अध्यक्ष सिंहले विगतमा कोभिड १९ को महामारी सबैका लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपका कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको बताइन्। नियामक निकायले लिएको विभिन्न कदमका कारणले आव २०७७–७८ मा बीमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने उनले आशा गरिन्। 

लामो समयपश्चात बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्ष सिंहले खुसी ब्यक्त गर्दै यसवाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप व्यवस्थित भई बीमाको पहुँचमा अझ वृद्धि हुने विश्वास व्यक्त गरिन्। 

आव २०७७–७८ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु उत्साहप्रद रहेको छ । कम्पनीको कुल बीमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि भई रु. १२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई रु.४२०४ करोड पुगेको र कुल लगानी २३.२० प्रतिशतले वृद्धि भई रु.३९२४.७० करोड पुगेको छ । 

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र आव २०७७–७८ मा ९.६७ प्रतिशत कायम रहेको छ। 

कम्पनीले नेपालगन्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गरेको सभामा जानकारी दिइयो। कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ। 

यसैगरी कम्पनीको आव २०७७–७८ को बीमांकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशनअनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजिङ गरेर बीमितहरुलाई दिई आएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ। 

कम्पनीले व्यावसायिक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्वबीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैरसरकारी संस्था एक एक पाइलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न ३ वर्षका लागि वित्तीय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ। 

सभामा अध्यक्ष सिंहले आउने दिनमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकका रुपमा आमसर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन्

१ बर्ष अगाडि

प्रतिक्रिया