जुनारको गुणस्तरीयतामा वृद्धि, बगैँचाबाटै बिक्री हुन थाल्यो

१ बर्ष अगाडि

रामेछाप / उत्पादनमा बढेको गुणस्तरीयतासँगै जुनारले स्थानीय स्तरमा बजार पाउन थालेपछि रामेछापका जुनार कृषकहरू उत्साहित भएका छन् ।

केही वर्ष अघिसम्म जुनार बगैँचामा लागेको औँसाका कारण व्यवसायबाट निरास बनेका कृषकहरू उक्त रोगको निराकरण पछिको उत्पादन वृद्धि र गुणस्तरीयतामा समेत सुधार आएसँगै राम्रो आम्दानी हुन थालेपछि उत्साहित बनेका हुन ।

जुनार र सुन्तला जातको उत्पादनलाई स्थानीय कृषकहरूले व्यवसायसँग जोडेर राम्रो आम्दानी गर्न सक्ने सम्भावनालाई मध्यनजर राखी नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत रामेछापलाई जुनार जोनको शीर्षकमा परियोजना नै सञ्चालन गर्दै आएको छ । परियोजनाले व्यावसायिक जुनारको संवर्द्धन र प्रवर्द्धनको क्षेत्रमा काम गर्न थालेपछि किसानहरूको आय आर्जनमा समेत वृद्धि भएको छ ।

परियोजनासँगै स्थानीय सरकारले पनि केही मात्रमा गरेको सहयोगले उत्पादनमा वृद्धि हुनुका साथै जुनारको गुणस्तरमा पनि सुधार भएको किसानहरूको भनाई छ । उत्पादनमा भएको वृद्धि र गुणस्तरीयतामा आएको सुधारसँगै जुनार खरिदका लागि बाहिरका मानिसहरू त्यस ठाउँमा पुग्ने गरेको रामेछाप ६ ओख्रेनीका अगुवा कृषक शेर बहादुर तामाङ्ग बताउनुहुन्छ ।

रामेछाप नगरपालिका ओख्रेनीको गाइटार, पुराना गाउँ, शुकाजोर, भालुखोप लगायतका क्षेत्रमा गरिँदै आएको व्यावसायिक जुनार खेतीले बजार पाउन थालेको भए पनि यसले आफ्नो छुट्टै पहिचान बनाउन नसकेकोमा भने कृषकहरू दुखित छन् ।

रामेछाप ६ ओख्रेनीमा ४०–५० घरधुरीका किसानले जुनार खेतीबाट नै जीविकोपार्जन गर्ने गरेका छन् । त्यहाँका किसानले जुनार बिक्री गरेरै ५० हजार देखि १५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । गुणस्तरीय जुनार सिजनमा प्रति केजी ४५ देखि ८५ रुपैयाँसम्म विक्री हुने गरेको छ ।

रामेछाप जिल्लाको जुनार सिन्धुलीको भनेर बिक्री भइरहेको भन्दै जुनार किसानले गुनासो गरेका छन् । रामेछाप नगरपालिका ६ ओख्रेनीको गाइटारमा लामो समयदेखि जुनार खेती गर्दै आएका किसान धनबहादुर तामाङले गाइटारमा फलेको जुनार सिन्धुलीको विभिन्न बजार केन्द्रमा सिन्धुलीको जुनार भनेर बिक्री भइरहेको बताउनुभयो ।

रामेछापमा उत्पादित जुनारको मुख्य बजार काठमाडौँ, सिन्धुलीको खुर्कौट लगायतका विभिन्न स्थान रहेको अर्का जुनार किसान हिमाल तामाङ्गले बताउनुभयो । उहाँका अनुसार रामेछापको जुनार भनेर चिनाउन नसकेकै कारण व्यापारीले रामेछापको जुनारलाई सहजै सिन्धुलीको भनेर विक्री गर्ने गरेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई रामेछापका प्रमुख थिरलाल गैरेले परियोजनाले गुणस्तरीय जुनारको वर्गीकरण गर्नु जरुरी भएकोले प्याकेजिङ र प्रचारका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

जुनारलाई बेमौसममा पनि बिक्री गरेर पर्याप्त आम्दानीका लागि मिनि चिस्यान केन्द्र समेत सञ्चालनमा आइसकेको छ ।

जुनारको गुणस्तरीयता वृद्धिसँगै रामेछापको जुनार विश्व बजारमा लान सकिने अवस्थामा पुगेको पनि गैरेले जानकारी दिनुभयो । तर कृषकहरूले रामेछापको जुनार भनेर चिनाउन र गुणस्तर मापन गरेर प्याकेजिङ गर्न नसक्दा भने बजारमा यसले गलत प्रचार पाएको उहाँले बताउनुभयो ।

१ बर्ष अगाडि

प्रतिक्रिया