मुद्रास्फीतिमा सामान्य सुधार, चालु खाता रु।३५ अर्ब ४० करोडले घाटामा

विहीबार, २९ मंसिर २०७९, १५ : ५३

काठमाडौं- पछिल्लो एक महिनाको अवधिमा मुद्रास्फीतिमा सामान्य सुधार भएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८।०८ प्रतिशत रहेको छ। अघिल्लो महिना असोजमा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो। अघिल्लो वर्षको कात्तिक महिनामा भने यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो। 

कात्तिकमा चालु खाता रु.३५ अर्ब ४० करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२२० अर्ब ९१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा रहेको छ। 

यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२० अर्ब ३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ।

२०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा रु.१२ खर्ब ४६ अर्ब २७ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ। 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१ खर्ब ५५ अर्ब ५ करोड कायम भएको छ।

आर्थिक वर्ष २०७९–८० को ४ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७९ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

विहीबार, २९ मंसिर २०७९, १५ : ५३

प्रतिक्रिया