गैरआवासीय नेपालीका समस्या समाधानका लागि छुट्टै संयन्त्र: अर्थमन्त्री

बुधबार, ०४ माघ २०७९, ०८ : २७

काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग  भएको भेटमा अर्थमन्त्री पौडेलले भन्नुभयो, “तपाईँहरूका माग वा समस्या जे–जति छन्, ती सबैलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, तर त्यसका लागि एउटै टेबलमा बसेर संवाद हुनु जरुरी छ, सबै मन्त्रालयका प्रतिनिधिसहित तपाईँहरूका प्रतिनिधिलाई पनि एकै ठाउँमा राखेर छलफल गर्छौँ ।”

गैरआवासीय नेपाली नागरिकताको विषय छिट्टै टुङ्गिने उल्लेख गर्दै मन्त्री पौडेलले भन्नुभयो, “नागरिकताको विषय अब छिट्टै टुङ्गिन्छ, त्यसमा चिन्ता मान्नुपर्दैन ।” गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री पौडेलले आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेललाई लामो समयदेखि सङ्घले उठाउँदै आएका माग सम्बोधनका लागि आग्रह गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले सङ्घले गर्दै आएका लोककल्याणकारी तथा परोपकारी कार्य, नेपालमा गैरआवासीय नेपालीको लगानी लगायत विषयमा मन्त्री पौडेललाई जानकारी गराउनुभयो ।

सङ्घका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्न नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष केसीले नेपाल सरकारको समेतको लगानी भएको करिब रु १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेण्ट फन्ड कार्यान्वयनमा ल्याउनका लागि देखापरेका कानुनी बाधा व्यवधानलाई हटाउन मन्त्री पौडेललाई आग्रह गर्नुभयो ।

अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुङ्गो लगाउन आग्रह गर्नुभयो । उहाँले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलपमेण्ट फन्ड’लाई अघि बढाउन देखा परेका कानुनी र व्यवहारिक कठिनाइ समाधानका लागि अन्तर-मन्त्रालय समन्वय गरेर समस्या सम्बोधन गरिदिन आग्रह गर्नुभयो ।

बुधबार, ०४ माघ २०७९, ०८ : २७

प्रतिक्रिया